६ बैशाख २०८१, बिहीबार
Follow Us

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई शपथको समस्या

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७४, मंगलवार ०९:२५

धनगढी । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी (गरिमा) शाहलाई २० हजार ९३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)की शाह १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा यति ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका थिए ।

दुई वर्षअघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै आउनुभएको छ । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो ।

चौधरीले सामाजिक सञ्जाल र भिडियो क्लिपको प्रयोग गरेर आफ्ना समर्थकलाई चुनावी प्रचारमा परिचालन गर्नुभएको थियो । निर्वाचित चौधरीको प्रमाणपत्र तथा शपथ लिने विषयमा कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णयबमोजिम हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले अभियुक्त चौधरीलाई भेटिएमा पक्राउ गरिने जानकारी दिनुभयो । “भेटिए भने कानूनबमोजिम उनी पक्राउ हुन्छन् र अदालतमा पेश हुन्छन्”, घिमिरे भन्नुभयो ।

प्रमाणपत्र हस्तान्तरण गर्न असहज

विजयी चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताउनुभयो । “विजयी भएको प्रमाणपत्र बुझ्न भनी उहाँकी श्रीमती र आफन्त बिहान कार्यालयमा आउनुभएको थियो” भुसालले भन्नुभयो “कानूनी व्यवस्थाबारे उहाँहरुलाई जानकारी गराएर फर्काइदिएँ ।”

विजयी हुनेले आफैँ कार्यालयमा उपस्थित भएर विजयी भएको प्रमाणपत्र बुझ्नुपर्ने, उपस्थित हुन नसकेमा घरठेगानामा प्रमाणपत्र पठाउनुपर्ने र प्रमाणपत्र पनि पठाउन नसक्ने अवस्था देखिएमा प्रमाणपत्र आयोगलाई हस्तान्तरण गरिने भुसालले बताउनुभयो ।

प्रदेशमा चौधरी र डा रावल
निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) मा राजपाकै कृष्णबहादुर चौधरी १२ हजार १८४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जनकराज चौधरीले नौ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (ख)तर्फ काँग्रेसका डा रणबहादुर रावल नौ हजार ४३४ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का नेपबहादुर चौधरीले आठ हजार ९०६ मत प्राप्त गर्नुभएको छ ।

यता विवादका कारण निर्वाचन क्षेत्र नं २ को मतगणना रातिदेखि स्थगन भएको छ । मतदान अधिकृतले उपलब्ध गराएको मतको तथ्यांकभन्दा मतपेटिकामा केही मत कम फेला परेपछि विवाद भएको निर्वाचन अधिकृत शिवहरि पौड्यालले बताउनुभयो । विवाद समाधानको प्रयास भइरहेको छ ।