१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चर्चित भएर पनि को कसरी पराजित भए ?

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७४, मंगलवार १३:५७

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो ।

विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका प्राडा गोविन्दराज पोखरेल प्यूठानबाट पराजित हुनुभयो । भारतका लागि नेपाली राजदूतसमेत रहनुभएका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा खगेन्द्र अधिकारी पराजित हुनुभयो ।

राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु निर्वाचन परिणामका आधारमा पराजित हुनुभएको हो । यस्तै लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजकसमेत रहनुभएका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिनुभएका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित हुनुभयो ।

यस्तै विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुप-यो ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न झापा क्षेत्र नं ५ पुग्नुभएका डा अधिकारीले २८ हजार २९७ मत प्राप्त गर्नुभयो । ओलीले अर्धशतकको हाराहारीमा मत प्राप्त गर्दा अधिकारीले पराजय भोग्नुप-यो । ओलीले सो क्षेत्रबाट ५७ हजार १३९ मत प्राप्त गर्नुभयो ।

उता राष्ट्रिय रुपमा स्थापित व्यक्तित्वको छवि बनाउनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसक्नुभएका प्राडा पोखरेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् वाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलसँग पराजित हुनुभयो ।

पौडेलले ४७ हजार ५१४ मत ल्याएर विजयी हुँदा प्राडा पोखरेलले ३१ हजार २८६ मत ल्याउनु भएको थियो । निर्वाचनका लागि भन्दै भारतका लागि नेपाली राजदूतको पद त्याग गरेर मैदानमा खडा हुनुभएका उपाध्याय पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका चक्रपाणि खनालसँग पराजित हुनुभयो ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा उत्रनुभएका उपाध्यायले २८ हजार ८५३ मत ल्याउनुभयो । सो क्षेत्रबाट विजयी खनालले भने २९ हजार ७९९ मत प्राप्त गर्नुभयो । आफू पराजित भएपछि विजयी उम्मेदवार खनाललाई बधाई दिँदै आगामी दिनमा पनि कपिलवस्तुको विकास निर्माणमा आफ्नो सक्रिय सहभागिता हुने प्रतिबद्धता उपाध्यायले व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “निर्वाचनमा होमिएपछि जीत–हार सामान्य प्रक्रिया हो । निर्वाचनले संविधान कार्यान्वयनको बाटो अघि बढेको छ । अब मुलुक आर्थिक समृद्धिको दिशामा बढ्छ भन्ने मेरो विश्वास छ ।”

जनताको मन र विश्वास जितेको भए पनि प्राविधिक रुपमा आफूले हार्नु परेको भन्दै विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार मिश्रले आफूहरु निरन्तर राजनीतिमा क्रियाशील रहने बताउनुभएको छ । मिश्रले यो चुनावी यात्राका क्रममा आफूलाई नेपाल र विदेशमा रहेका नेपालीको असोचनीय स्तरमा साथ र सहयोग मिलेको भन्दै यसपटक राष्ट्रिय पार्टी बन्न नसके पनि राजनीतिमा सकारात्मक रूपले गरेको आक्रामक आगमन नै खुशीको विषय भएको उल्लेख गर्नुभयो । उहाँ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित हुनुभयो ।

सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत प्राप्त गर्नुभयो । मनाङबाट प्रदेशसभा (ख)मा उम्मेदवार हुनुभएका गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रनुभएको थियो । उहाँले एक हजार ४१० मत ल्याएर प्रदेशसभामा विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत प्राप्त गर्नुभयो । उता फरक पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका सिलवालले ललितपुर–१ बाट अर्थराज्यमन्त्रीसमेत रहनुभएका काँग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पराजित गर्नुभयो ।

सिलवालले २६ हजार ९५१ मत पाएर विजयी हुँदा राणाले भने २० हजार ७२९ मत प्राप्त गर्नुभयो । आफूलाई जनताले विश्वास गरेको र वाम गठबन्धनको साथ र सहयोगले विजयी भएको सिलवालको भनाइ छ । मत परिणामलाई हेर्दा राजनीतिक कर्मभन्दा बाहिर रहेका एकाध उम्मेदवार मात्रै सफल भएको र अन्य धेरै भने असफल भएको देखिन्छ । तर पराजित र विजयी हुने उम्मेदवारका भने आ–आफ्नै दाबी रहँदै आएको छ ।
– रमेश लम्साल