७ बैशाख २०८१, शुक्रबार
Follow Us

समानुपातिकमा एमाले र कांग्रेस लगभग बराबरी

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७४, बुधबार ०४:४३

काठमाडौं । समानुपातिकतर्फ कूल खसेको मत लगभग आधा गन्दा शीर्ष दल नेकपा एमाले र नेपाली कांग्रेसको बराबरीजस्तो देखियो । कुल खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मत मध्ये गणना भएको ५१ लाख ५६ हजार ६१० मत गन्दा एमालेले सबैभन्दा बढी १८०९४४३ अर्थात ३५ प्रतिशत मत ल्याएको छ। नेपाली कांग्रेसले भने ३३.४ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३.८२ प्रतिशत मत पाएको छ। यी तीन पार्टीबाहेक संघीय समाजवादी फोरम र राजपाले मात्र तीन प्रतिशत मत कटाएका छन्। तीन प्रतिशतका लागि राप्रपा २.२९ प्रतिशत मत र विवेकशील साझा २.२ प्रतिशत ल्याएर संघर्षरत छन्।
३ प्रतिशत थ्रेस होल्ड कटाउने दलले मात्र राष्ट्रिय पार्टीका रूपमा समानुपातिकको १ सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् । विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए । तर यस पटक समानुपातिकमा सिट पाउने दलले न्यूनतम ३ लाख वरिपरि मत ल्याउनुपर्ने छ ।
निर्वाचन कानुनले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि १.५ प्रतिशत मतको थ्रेसहोल्ड तोकेको छ । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६०(११) र प्रदेशसभा निर्वाचन ऐनको दफा ६०(९) मा त्यससम्बन्धी प्रावधान उल्लेख छ ।