१५ बैशाख २०८१, शनिबार
Follow Us

यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७४, बुधबार १२:०३

पर्सा । मधेसी गठबन्धनको जितपछि वीरगन्जमा निकालिएको विजयजुलुसमा स्थानीयले विजयी उम्मेदवारलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजयी प्रदीप यादवलाई चाँदीको मुकुट लगाइदिएर स्वागत गरिएको हो ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको निवासबाट बुधबार निकालिएको विजयजुलुमा पर्सा–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य लालबाबु राउत गदी र जनत अन्सारीलाई स्वागत गर्दै स्थानीयले चाँदीको मुकुट र ५१ केजीको माला लगाइदिएका हुन् । २ नम्बर प्रदेशको केन्द्रविन्दु र औद्योगिकनगरीको नामले चिनिएको पर्सा जिल्लामा रहेका चारओटा निर्वाचन क्षेत्रहरुमा मधेसी गठबन्धनले आफ्नो कब्जा जमाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पर्साका चार प्रतिनिधिसभा क्षेत्रहरुमध्ये संघीय समाजवादी फोरम नेपालले तीन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई स्थानमा जित हासिल गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको ‘गढ’ मानिने पर्साका चारओटै क्षेत्रमा मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनलाई हराएको हो ।