६ बैशाख २०८१, बिहीबार
Follow Us

विशेष महाधिवेशन तत्काल आवश्यक छैन : डा. खड्का, सांसद नेपाली कांग्रेस

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७४, बिहीबार ०५:३४

नेपाली कांग्रेसको तर्फबाट उदयपुर–१ बाट निर्वाचित डा. नारायण खड्काले तत्काल विशेष महाधिवेशन बोलाउनु नहुने बताएका छन् । पार्टी पराजयको कारण केन्द्रीय समितिमा छलफल गरेपछि मात्र नेपाली कांगे्रसले अगाडिको बाटो तय गर्नुपर्ने धारणा डा. खड्काको छ । बाम गठबन्धन र कांगे्रसभित्रको आन्तरिक समस्याले पार्टीले धेरै स्थानमा पराजय हुनुपरेको निष्कर्ष डा. खड्काको छ । कांगे्रस पराजयको कारणबारे सहकर्मी हेमप्रकाश वलीसँग कुरा गर्दै डा. खड्काले भने, ‘पहिलो समीक्षा बैठक गरौं, त्यसले जे निष्कर्ष निकाल्छ, त्यही गर्नुपर्छ ।’

० जनताले सजिलै पत्याएछन्, निर्वाचित हुनुभयो ?
– सजिलै हुनुपर्ने हो, मैले जुन हिसाबले यहाँका जनताको सेवा गरेको थिएँ, गठबन्धन र विविध कारणले अप्ठ्यारो पा¥यो । तर जे होस् जनताले मलाई निर्वाचित गरेर पठाएका छन् । अहिले धेरै विश्लेषण गरेर काम छैन । नेपाली कांग्रेस र मलाई जनताले विश्वास गरे, यहाँ काम गर्न अझ पे्ररणा दिएका छन्, त्यसका लागि यहाँका जनतालाई पुनः धन्यवाद दिन चाहन्छु ।

० देशभरिबाट कांग्रेसलाई पत्याएनन ?
– ठीक हो, गठबन्धनको चाप धेरै ठाउँमा प¥यो । पार्टीभित्र हाम्रो आन्तरिक समस्या त छँदै थियो । टिकट वितरण गर्न बसेका मित्रहरुले आफूलाई मनपर्ने व्यक्तिलाई टिकट दिएको भन्ने साथीहरुको आलोचना छ ।

० कांग्रेसको पराजयलाई कसरी लिने ?
– वाम गठबन्धनको असर र कांग्रेसभित्रको आन्तरिक समस्या हो । बाम गठबन्धन सबभन्दा ठूलो फ्याक्टर हो भने नेपाली कांग्रेसको नेतृत्वमा बस्ने नेताहरुको कार्यसम्पादन पनि नेपाली जनताले गरे । अन्तरघात भएको कुरा पनि आएको छ । जुन परिणाम आयो, त्यसलाई हामीमाँझ समस्या रहेछ भन्ने कुरा उजागर भएको छ । यसलाई अवसरको रुपमा लिनुपर्छ । यो खालको नतिजा आउँछ होला भनेर हामीले बोध गरेका थिएनौं । यो नतिजालाई गहिरो विश्लेषण गरेर अगाडि बढ्नुको विकल्प छैन ।

० लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन सकेन नि ?
– कांग्रेसले राप्रपासँग गठबन्धन गरेको हो, त्यो माओवादीको तुलनामा त्यत्ति ठूलो शक्ति थिएन । मधेशी दलहरुसँग केही स्थानमा गठबन्धन भयो, त्यो पनि पार्टीभित्र माथि हात हुनेहरुले आफूलाई सुविधा हुने हिसाबले गठबन्धन भयो । एमाले र माओवादीको जस्तो गठबन्धन हामीले गरेनौं । त्यसकारण नेपाली कांग्रेसले आफ्नै शक्तिमा चुनाव लडेको हो ।

० कांग्रेसमा चाहिँ अन्तरर्घात हुन्छ ?
– घात अन्तरघात अरु पार्टीमा पनि भयो होला, तर नेपाली कांग्रेसमा जो नेतृत्वमा आउँछ, उसले सेन्डिगेट बनाउने, हैकमवादी शैली प्रयोग गर्ने, कार्यकर्ताको मूल्यांकन नहुने, आफ्नो वरिपरी घुम्ने मित्रहरुलाई बढी अवसर दिने, जो फिल्डमा बसेर काम गरिरहेका छन्, ति साथीहरुलाई बेवास्ता गर्ने काम पार्टीमा २०५१–०५२ देखि सुरु भएको हो । यो रोग क्यान्सरकै रुपमा फैलिएको छ । यसपटक पराजित हुनुपर्ने यो पनि एउटा कारण हो । अब पार्टीलाई मासबेस भन्दा पनि क्याडरबेसतिर लैजानुपर्ने, कार्यकर्तालाई बढी मात्रामा परिचालन गर्न आवश्यक छ । कार्यकर्ताको सही मूल्यांकन गर्ने पद्धति विकास गरेर अगाडि बढ्दा नेपाली कांगे्रस कमजोर छैन । भोलिका दिनमा यी सबै कुराको समीक्षा गरेर अगाडि बढ्नुपर्छ । नेपाली जनताले कांगे्रसप्रति धेरै आशा र विश्वास गरेका छन् ।

० पराजयको जिम्मेवारी कसले लिने ?
– निर्णत तहमा बस्नेहरुले जिम्मेवारी लिनुपर्छ । पार्टी सभापतिले राख्नुहोला आफ्नो तर्कहरु । नैतिकताको कुरा पनि आउला । नेतृत्वले कस्तो जिम्मेवारी लिने भन्ने विषयमा छलफल हुन्छ ।

० विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन सम्भव छ ?
– तुरुन्तै सम्भव छैन, हुनुपर्छ भन्ने पक्षमा म छैन । यसले काउन्टर रियाक्सन गर्छ । कम्युनिष्ट गठबन्धनलाई म उभार मात्र ठानेको छु, यो विस्तारै तल जान्छ । हामी पनि बैठक बसेर छलफल चलाउँछौं । पार्टीभित्र जटिल छ, धेरै खालका व्यक्तिले बनेको पार्टी हो यो । अपेक्षा हुनु स्वभाविक छ ।

० प्रदीप गिरीले युवाहरुले उठाएको आवाजलाई मेरो साथ रहने छ भन्नुभएको थियो । तपाईं पनि साथ दिन सक्नुहुन्छ ?
– प्रदीपजीको आफ्नो अभिव्यक्ति होला । एकले अर्कोलाई मान्ने पक्षमा नभएकाले हाम्रो सामाजिक परिवेश जटिल छ । एकले अर्कोलाई नस्वीकार्ने अवस्था हुन्छ । सम्भावना भएका युवा साथीहरुलाई अगाडि ल्याउनैपर्छ । उहाँहरु आफै अगाडि आउनुहुन्छ ।

० विशेष महाधिवेशन बोलाउनुपर्छ ?
– तत्काल बोलाउनु हुँदैन भन्ने पक्षमा म छु । कार्यसमितिबाट त्यो खालको निर्णय आयो, पार्टी सभापतिले आह्वान गर्नुभयो भने त्यो बेग्लै कुरा हो ।