१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यिनै हुन्- नेपाली कांग्रेसलाई अस्पताल भर्ना गर्ने टोली

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७४, बिहीबार १३:५०

काठमाडौं । गगन थापालाई पार्टी प्रवक्ता नियुक्ति गर्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गर्दै थिए । थापालाई प्रवक्ता नियुक्ति गर्न पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई पत्र तयार गर्न सभापति देउवाका सहयोगी भानु देउवाले फोनमा भनिसकेका थिए । पार्टी कार्यालयमा पत्र तयार नहुँदै बालकृष्ण खाँण र डा. प्रकाशशरण महत प्रधानमन्त्री निवास बालुवाटार पालैपालो छिरेर गगनलाई पार्टी प्रवक्तामा नियुक्त नगर्न दबाब दिए ।
प्रधानमन्त्री देउवाले डा. महत र खाँण दुवैलाई हप्काएर पठाए । आफूहरुको कुरा सभापति देउवाले नसुनेपछि उनीहरुले प्रधानमन्त्री पत्नी डा. आरजु देउवालाई भेटे । डा. आरजुले सभापति देउवाको कान फुकेपछि पार्टी कार्यालयमा बन्दै गरेको गगन थापा प्रवक्ता नियुक्तिको पत्र रोकियो ।
निर्वाचनका बेला गगनलाई प्रवक्तामा नियुक्त गर्दा आम कार्यकर्तामा राम्रै म्यासेज मात्र होइन, सिटौला समूह पनि कमजोर हुने निष्कर्ष सभापति देउवाको थियो । तर बुढानीलकण्ठ वरिपरी घुम्ने देउवाका सारथीहरुले गगनलाई प्रवक्ता बन्न रोक ।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई सबैभन्दा बढी प्रभावित पत्नी आरजुले पारेकी थिइन् । हरेक काम कार्यवाहीमा पत्नी आरजु नै अघि सर्छिन् । विमलेन्द्र निधि गृहमन्त्री भएका बेला गृहसचिव तोक्ने, प्रहरी प्रमुख नियुक्ति तथा त्यसपछि उत्पन्न भएको प्रधानन्यायाधीश महाअभियोग काण्डसमेत पत्नी आरजुले सिर्जना गरेको समस्या भएको कांग्रेसीहरु बताउँछन् ।
पत्नी आरजुले सुदूरपश्चिमका रमेश लेखक, बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु खाँण, डा. प्रकाशशरण महत, उनकी पत्नी विना महत, नेपाली सेनासँग राम्रो सम्बन्ध रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सहयोगी बनाएकी थिइन् । लेखक, डा. महत र स्वयम आरजु चुनावमा पराजित भए । नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा अर्थमन्त्रीले सुनसरी–४ बाट सजिलै चुनाव जिते । दोस्रो संविधानसभाको निर्वाचनमा २६ मतले विजयी भएका खाणले यसपटक निर्वाचन लड्ने हिम्मत गरेनन् । आफू र पत्नीको नाम समानुपातिकमा राखे ।
पैसा भएपछि चुनाव जितिन्छ भन्ने मानसिकता बोकेको यो समूहले सभापति देउवालाई थाहै नदिई धेरै चलेखेल गरेको बताइन्छ । साँझ परेपछि हुस्की खानुपर्ने सभापति देउवा पत्नीको कुरो काट्न नसक्दा नेपाली कांग्रेसले यो निर्वाचनमा शर्मनाक पराजय व्यवहोर्नुपरेको विश्लेषण गरिएको छ ।