६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रचण्डसँगको भेटपछि ओली सिधै शितल निवासमा

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७४, शुक्रबार १४:०९

काठमाडौं । संसदमा सबैभन्दा धेरै सिट जितेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनका सहयात्री पुष्पकमल दाहालसँग भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो । अध्यक्ष ओलीले राष्ट्रियसभा गठनबारे छलफल गर्न राष्ट्रपति भण्डारीलाई भेट्नु भएको बुझिएको छ । राष्ट्रियसभा गठनसम्बन्धी सरकारले प्रस्तुत गरेको अध्यायदेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएको छैन । हिजै मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटी अध्यायदेश जारी गर्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नुअघि अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो । दुई शीर्ष नेताको भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ ।
अपराह्न काठमाडौँमा भएको भेटवार्तामा उहाँहरुबीच नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभाको गठनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिनुभयो । अध्यक्षद्वयबीचको छलफलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धन परिणाममुखी भएको निष्कर्ष निकालेको छ ।
उहाँहरुबीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी पनि भएको छ । आजको छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी बनेको प्रेस संयोजक तिमल्सिनाले बताउनुभयो ।