६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचनमा २ उपप्रधानसहित २४ मन्त्रीले पराजित

नेपालब्रिटेन डट कम्
१ पुष २०७४, शनिबार ०८:२०

काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएका छन। प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य छन । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा थिए । यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोगेका हुन ।

निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री छन् । निर्वाचनमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापा मकवानपुर १ बाट पराजित भएका छन । अर्का उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि स्याङ्जा २ बाट पराजित भए । जनमत परीक्षणमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र विना विभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा सफल भएका छन । गच्छदार सुनसरी ३ र महरा दाङ २ बाट निर्वाचन भएका हुन ।

यस्तै, श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, स्वास्थ्यमन्त्री दीपक बोहोरा, उद्योगमन्त्री सुनीलबहादुर थापा पनि पराजित भएका छन । मन्सुर बारा ३, बोहोरा रुपन्देही ३ र थापा धनकुटाबाट पराजित भएका हुन । यस्तै, वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे, भूमिसुधार मन्त्री गोपाल दहित र सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत पनि चुनावी परीक्षणमा असफल भएका छन । पाण्डे चितवन ३, दहित बर्दिया २, र बस्नेत सिन्धुपाल्चोक १ बाट पराजित भएका हुन । बहालवाला न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, महिला तथा बालबालिका मन्त्री विक्रमबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर पनि चुनावी दौडमा असफल भएका छन ।

कानुनमन्त्री थापा कास्की १, बालबालिकामन्त्री थापा काठमाडौँ ७ र भौतिक पूर्वाधारमन्त्री बलायर डोटीबाट पराजित भएका हुन । सहकारी तथा गरिवी निवारणमन्त्री अम्विका बस्नेत, सिँचाइमन्त्री रामकृष्ण यादव र खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव पनि जनमत परीक्षणमा असफल भएका छन । बस्नेत काठमाडौँ ३, रामकृष्ण धनुषा २, महेन्द्र धनुषा ४ बाट पराजित भएका हुन ।बहालवाला ११ राज्यमन्त्रीको परिणाम पनि पराजय नै रह्यो ।

माओवादी केन्द्रबाट काँग्रेसमा प्रवेश गरी पशुपंक्षी विकास राज्यमन्त्री रहनुभएका शम्भुलाल श्रेष्ठ पनि सर्लाही १ बाट पराजित भए । भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ पनि तेह«थुमबाट पराजित भइन । यस्तै, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी चितवन २ बाट पराजित भए। वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द बैतडीबाट पराजित भए । खानेपानी तथा सरसफाइ राज्यमन्त्री अव्दुल रज्जाक गद्दी पनि रुपन्देही १ बाट पराजित भए। सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, कानुन राज्यमन्त्री दिलमान पाख्रिन, अर्थ राज्यमन्त्री उदय शमशेर राणा पनि जनमत परीक्षणमा असफल भएका छन । पुन रोल्पाबाट, पाख्रिन धादिङ २ तथा राणा ललितपुर १ बाट पराजित हुनुभएको हो । सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्का बागलुङ १ बाट पराजित भएका हुन ।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनुभएका बिना विभागीय मन्त्रीहरु भने सवै विजयी भएका छन । उपप्रधान एवं विना विभागीय मन्त्री कृष्णबहादुर महरा, प्रभु साह, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल आ–आफ्नो निर्वाचन क्षेत्रबाट विजयी भए । । यस्तै, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र शन्तकुमार थारु विजयी भए । शाही र कोइराला प्रदेशसभा सदस्यमा निर्वाचित भए । प्रदेश ६ को मुख्यमन्त्रीको दावीसहित शाही विजयी भएका छन । यसैगरी कोइराला तनहुँ क्षेत्र नम्बर २ को प्रदेश क बाट काँग्रेसका प्रदीप पौडेललाई पाँच मतको अन्तरले पराजित गर्दै विजयी भइन । विना विभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठ पनि रामेछापबाट विजयी भए ।