१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सम्पन्न निर्वाचनको अमेरिकाद्वारा स्वागत

नेपालब्रिटेन डट कम्
१ पुष २०७४, शनिबार ०८:३२

काठमाडौं । संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित रूपमा सम्पन्न गराएकोमा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ । मतगणना लगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा समेत अमेरिकाले प्रशंसा गरेको छ । ‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ,’ नेपालस्थित अमेरिकी राजदूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ ।
पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउन तथा सुरक्षित र सुव्यवस्थित वातावरण बनाउन लागिपरेका असंख्य सरकारी अधिकारीप्रति पनि सराहना व्यक्त गरिएको छ। निर्वाचन अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिको अथक प्रयास र योगदान प्रशंसनीय रहेको जनाउँदै विज्ञप्तिमा नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत रहेको उल्लेख छ। नेपाली जनताको सेवा र भलाइ गर्ने खालको समावेशी, पारदर्शी र जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहका नवनिर्वा्चित जनप्रतिनिधिको काँधमा आएको उल्लेख गर्दै पूर्ण रूपमा जवाफदेही बनेर नागरिक कर्तव्यलाई निरन्तरता दिन पनि आग्रह गरिएको छ।