७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७३, शनिबार १२:३३

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । गत मङ्गलबार मध्यराति नेपाली काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरे पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ ।

प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिन गृहकार्य भइरहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिनुभयो । “आज साँझ ५ बजेसम्म अन्तिम नामावली काँगे्रसको वेबसाइटबाट सार्वजनिक गछौँ, भोलि(आइतबार) बिहानदेखि मनोनयनपत्र दर्ता, दाबी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशन गरेर सोमबार मतदान हुनेछ”–उहाँले भन्नुभयो ।

काँग्रेसको निर्देशन समिति र निर्वाचन समिति विवाद मिलाएर मतदाता नामावलीलाई अन्तिम रुप दिन लागिरहेका बेला प्रतिनिधि भने अन्योलमा परेको सिन्धुपाल्चोकका प्रतिनिधि तेजबहादुर बानियाँले बताउनुभयो । यही साउन २३ गते काँग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र भने सुरु हुन सकेको छैन । विसं २०६४ जेठपछि हुन लागेको महाधिवेशन बन्दसत्र नगरी नेतृत्व चयनमा जाने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।