१२ बैशाख २०८१, बुधबार
Follow Us

पत्रकार महासंघ काभ्रेको रजत महोत्सव सम्पन्न

नेपालब्रिटेन डट कम्
२ पुष २०७४, आईतवार १२:१५

धुलिखेल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २५औँ स्थापना दिवसका अवसरमा आयोजित रजत महोत्सव समारोहमा उहाँले प्रेस स्वतन्त्रता विरुद्ध चालिने जुनसुकै कदमको डटेर मुकाबिला गर्ने र लोकतन्त्र र प्रेस स्वतन्त्रताको निमित्त कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो ।

लोकतन्त्रका लागि लड्ने संस्थाका पत्रकारलाई अझै पनि झुटा मुद्दा लगाएर थुन्ने काम राज्यबाट भइरहेको उल्लेख गर्दै उहाँले त्यस्तो काम नहो-याउन आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले पत्रकारको समस्या र उनीहरुको जीविकोपार्जनको विषयमा आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने बताउनुभयो ।

समारोहमा नेपाल पत्रकार महासंघ काभ्रेले रजत महोत्सवको अवसरमा प्रकाशित ‘पत्रकारिता दर्पण’ को अध्यक्ष आचार्यले विमोचन र लोगो सार्वजनिक गर्नुभएको थियो । सोही अवसरमा महासंघ काभ्रेपलाञ्चोक जिल्ला शाखाको संस्थापक सदस्यहरु, सल्लाहकारहरु तथा पूर्वध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघले प्रतिनिधिसभा तथा प्रदेशसभाका नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गरेको थियो ।