१५ चैत्र २०८०, बिहीबार
Follow Us

माओवादी केन्द्रको बैठक मंगलबार

नेपालब्रिटेन डट कम्
२ पुष २०७४, आईतवार १३:५१

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।

सो पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपा (एमाले)सँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने सो पार्टीले जनाएको छ ।

वाम गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जानकारी दिएको छ ।