१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कमल थापाको भूमिका यो देशले बुझ्न सकेन : राजेन्द्र लिङ्देन, सांसद राप्रपा

नेपालब्रिटेन डट कम्
३ पुष २०७४, सोमबार ०५:०७

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित एक मात्र सांसद राजेन्द्र लिङदेनले आफू एमालेमा प्रवेश गर्ने चर्चा निराधार भएको बताएका छन् । लोकतान्त्रिक गठबन्धनले झापामा धोका दिएकाले बाम गठबन्धनको सहयोगमा आफूले चुनाव जितेको सांसद लिङदेनले बताए । पार्टी अध्यक्ष कमल थापाको भूमिका यो देशले बुझ्न नसकेकाले राप्रपा पराजयको भएको निष्कर्ष उनले निकालेका छन् । यिनै विषयमा हेमप्रकाश वलीले लिङदेनसँग गरेको कुराकानी

० तपाईंलाई बधाइ दिन पार्टी अध्यक्ष झापा नै पुग्नुभयो नि ?
– हो, भर्खरै बधाइ कार्यक्रम सम्पन्न भयो ।

० पार्टी अध्यक्षले के भन्नुभयो ?
– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतबाट १ सिट मात्र जित्नसक्यो । पार्टीले थे्रसहोल्ड पनि क्रस गर्न सकेन । यस्तो अवस्थामा हामीले १ सिट मात्र जित्यो, साथीभाइले मलाई बधाइ दिए । आगामी दिनमा समीक्षा गरेर कमीकमजोरी केलाएर अगाडि बढ्ने कुरा भएको छ ।

० तपाईं बधाइ लिँदालिँदै भक्कानिनु भयो अरे नि ?
– पछिल्लो समयमा आएर पार्टी अध्यक्ष कमल थापामाथि जुन प्रकारका अभियोग आए, वास्तवमा उहाँले पार्टीको विचार सिद्धान्त मजबुतिका लागि भूमिका निर्वाह गर्नुभएको थियो । कमल थापाको भूमिका यो देशले बुझ्न सकेन, त्यही अपेक्षाअनुसारको हामीले सिट प्राप्त गर्न सकेनौं । यो विषयले म केही गम्भीर भएँ ।

० कमल थापाले चुनाव नजित्दा पीडा भएको हो ?
– कमल थापाले आफूलाई भन्दा मेरो जितलाई प्राथमिकतामा राखेर काम गर्नुभएको थियो । यस्तो प्रतिकूल परिस्थितिमा पनि मेरो जीतका लागि नेतृत्वले जुन भूमिका निर्वाह गरेको थियो, त्यसले मलाई बढी भावुक बनायो ।

० तपाईंलाई बाम गठबन्धनले जिताएको होइन ?
– गठबन्धनबाटै मैले निर्वाचन जितेको हुँ, यो यथार्थ हो । चुनाव जितेपछि अनेक कुरा गर्नु हुँदैन । यो एकतर्फी होइन, झापाको अन्य ४ वटा क्षेत्रमा हामीले वाम गठबन्धनलाई सहयोग गरेका छौं । यो विल्कुल लेनदेनको कुरा हो । हामीले मात्र सहयोग लिएको होइन, सहयोग दिएको पनि छ ।

० झापामा चाहिँ राप्रपाको वाम गठबन्धन कसरी समभव भयो ?
– हामीले प्रारम्भमा नेपाली कांगे्रसको आह्वानमा लोकतान्त्रिक गठबन्धनमा नै सामेल भएर चुनाव लड्ने निर्णय गरेका थियौं । नेपाली कांगे्रससँग झापा–३ राप्रपाको भागमा रहने भनेर सहमतिसमेत गरिसकेको थिइयो । अन्तिम अवस्थामा आएर नेपाली कांगे्रसले बेइमानीपूर्ण व्यवहार ग¥यो, हामीलाई धोका दियो । हामीले झापामा चाहिँ वामपन्थी गठबन्धनसँग तालेमल गर्ने निर्णय ग¥यौं । झापामा चाहिँ विशेष परिस्थितिमा वाम गठबन्धनसँग तालमेल भएको हो ।

० तपाईंलाई जिताउनुभन्दा पनि सिटौलालाई हराउन वाम गठबन्धनले सहयोग गरेको भनिन्छ नि ?
– त्यस्ता कुरा म बुझिदिनँ, अनुमान पनि गर्दिन् । कसैको हार जीतभन्दा पनि बामपन्थी गठबन्धनले अन्य ४ क्षेत्रमा जित्नु पनि थियो । यो विल्कुल चुनावी तालमेल हो । चुनाव जित्नसँग सम्बन्धित रहेर गठबन्धन भएको हो, कसैलाई हराउन होइन ।

० तपाईं एमालेमा जाने सम्भावना छ भन्छन नि ?
– यस्ता कुरा सामाजिक सञ्जालमा मैले पनि पढेको हुँ । झापा–३ मा मैले बामपन्थी गठबन्धनसँग सहयोग लिएको कारणले एमालेमा प्रवेश गर्ने, सुरेन्द्र कार्कीले राप्रपाको सहयोगमा चुनाव जित्नु भएको छ, राप्रपा प्रवेश गर्ने, एमाले अध्यक्ष केपी ओलीलाई हाम्रो साथ र समर्थन थियो उहाँ राप्रपामा प्रवेश गर्ने भन्ने हुँदैन । चुनावमा सहयोग लिएको कारणले पार्टीमै प्रवेश गर्नु हास्यस्पद हो । म आफै पार्टीको महामन्त्री हुँ, एमालेमा प्रवेश गर्ने कल्पनासमेत नगरिएको विषय हो ।