८ बैशाख २०८१, शनिबार
Follow Us

‘राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सरकार नछाड्ने’

नेपालब्रिटेन डट कम्
३ पुष २०७४, सोमबार १३:१४

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा मन्त्री थापाले यो चुनावी सरकार भएको प्रष्ट पार्दै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर सरकार छाड्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगले पूर्ण मत परिणाम अझै सार्वजनिक नगरिसकेको चर्चा गर्दै नयाँ सरकारको गठन प्रक्रिया पु-याएर मात्र छाड्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, “प्रधानमन्त्रीले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनु हुन्न ।”

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरु सरकार छोड्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले दुई महिनाअघि राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको बताउँदै अहिलेसम्म स्वीकृति नदिनु दुःखद भएको गुनासो गर्नुभयोे ।

मन्त्री थापाले अध्यादेश संविधानसम्मत रुपमा राष्ट्रपतिसमक्ष पठाएको भन्दै त्यसलाई स्वीकृत गर्नुको विकल्प राष्ट्रिपतिसँग नभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच एकता र सरकार गठनबारे आन्तरिक छलफल शुरु भइरहेकाले सहमतिमै सबै कुरा टुङ्गो लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दुई पार्टीलाई एकीकरण गर्न एकता प्रक्रिया शुरु गरिसकेको तथा एकताका लागि हामी बैठक बसिरहेका छौँ । त्यस्तै, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौँ । पार्टी एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटीलाई समायोजन गरेर जान्छौँ ।”

राष्ट्रिय सभाको निर्वाचन बहुमतका आधारमा नै गर्ने स्पष्टरुपमा नेपाली काँग्रेससँग समझदारी भएको उल्लेख गर्दै अहिले सरकारले राजनीतिक सहमति विपरीत राष्ट्रिय सभाको निर्वाचनबारे कुरा उठाउनु अनुचित भएको उहाँको तर्क थियो ।

नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीजीले मार्ग प्रशस्त नगर्दा प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको निष्ठालाई कमजोर बनाउने गुनासो रावलले गर्नुभयो ।