१२ बैशाख २०८१, बुधबार
Follow Us

रसमोर एरियामा पहिलोपटक आगोमा हिंड्ने कार्यक्रम

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार १९:२०

मिचेट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले तमुधिं यूकेको सहयोगमा रसमोर एरियामा पहिलोपटक आगोमा हिंड्ने कार्यक्रम गरेको छ ।

तमुधिं भवन मिचेटमा सम्पन्न उक्त कार्यक्रममा नेपाली, इंगलिस, चाइनिज लगायत अरु समुदायका करिब १८० जनाको सहभागिता रहेकोमा ५५ जना आगोमा हिंड्न सफल भए ।

जीवनमा डरदेखि सदाका लागि मुक्त हुन सहयोगी सिद्ध मानिएको आगोमा हिंड्ने कार्यक्रममा 
संस्थाका सल्लाहकार एवं मास्टर कृष्ण गुरुङको विशेष भूमिका थियो । सो कार्यक्रमका लागि अर्का मास्टर लोटी र उनको टिमले समेत सहयोग गरेका थिए ।

दिउसो तीन बजे शुरु भई सांझ ७ बजे सम्पन्न उक्त कार्यक्रमको प्रथम चरण समाजसेवी पुष्पा गुरुङले सञ्चालन गरेकी थिइन् भने मास्टर कृष्ण गुरुङले सहभागी सबैलाई रमाइलो माहोलमा मनोबल उच्च गराइ आगोमा हिंड्दा गर्न हुने र नहुने विषयमा सुसूचित गरेका थिए ।

स्थानीय समुदायका मानिसहरुको आत्मवल वृद्धिसंगै एकापसमा सौहाद्र र निकटको वातावरण बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रम अहिलेसम्मकै सफल रहेको दावी कम्युनिटीको छ ।

मेयर सोफिया चौधरी, कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, क्याबिनेट लिडर डेभिड क्लीफोर्ड, वरिष्ठ उपाध्यक्ष रामधन राई, मास्टर कृष्ण गुरुङ, महासचिव मान गुरुङ, र मार्सल वार्डले सफलतापूर्वक फायर वाक गर्नेलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अन्तिम चरणको सञ्चालन महासचिव मान गुरुङले गरेका थिए भने अध्यक्ष जीव बेल्बासेले सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमका लागि अहोरात्र खट्ने मास्टर कृष्ण गुरुङ, महासचिव मान गुरुङ र कोषाध्यक्ष टोप पल्लीलाई विशेष धन्यवाद दिए ।

रसमोर बरो काउन्सिल मेयर सोफिया चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा क्याबिनेट लिडर डेभिड क्लीफोर्ड, ६ जना काउन्सिलर, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, निवर्तमान अध्यक्ष ओम थापा, सल्लाहकारहरु, एनआरएनए यूके पदाधिकारी लगायतको सहभागिता थियो ।