१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याउने एमालेको तयारी’

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार २२:३०

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच २९ मंसिर अपराह्न भेट भयो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक भेटघाट गरेका यी दुई नेताले पार्टी एकता, सरकार गठन, राष्ट्रियसभाको निर्वाचनजस्ता विषयमा छलफल गरे ।

एमाले–माओवादी केन्द्रका शीर्ष नेताबीच भेट भइरहँदा दुवै पार्टीका दोस्रो तहका नेताहरू सत्ता बाँडफाँटको कसरत गरिरहेका थिए । समानुपातिक निर्वाचन प्रणालीको मतगणना अन्तिम चरणमा पुगेसँगै भारी बहुमतले अघि रहेका यी दुई पार्टी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख र उपसभामुख चयनमा लागेका हुन् । यद्यपि, दुवै पार्टीका नेताहरू सत्ता बाँडफाँटको छलफलबारे औपचारिक मुख खोल्न चाहँदैनन् । एमाले नेताहरूसँग छलफलमा जुटिरहेका माओवादी केन्द्रका एक नेता भन्छन्, “आगामी सत्ताको बाँडफाँट कसरी गर्ने भनेर छलफल प्रारम्भ भएको छ । तर, मोटामोटी मात्र टुंगो लागेको छ ।”

राजकीय पदमा हानथाप

एमालेका एक सचिवालय सदस्यका अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एमालेबाटै बन्नेछन् । बाँडफाँटका क्रममा कदाचित सभामुख माओवादीलाई दिनुपर्‍यो भने पनि राष्ट्रपति र प्रधानमन्त्रीचाहिँ एमालेबाटै चुनिनेछन् । एमाले अध्यक्ष केपी ओली निर्विवाद रूपमा प्रधानमन्त्री बन्दैछन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत सबै नेताहरू सहमत छन् ।

गठबन्धन गरेर निर्वाचनमा गए पनि प्रत्यक्ष र समानुपातिक दुवैमा माओवादीभन्दा दोब्बरभन्दा बढी सिट ल्याएको, प्रदेश–१ र ३ मा एक्लैले प्रदेश सरकार बनाउने अवस्था रहेको, वाम वर्चस्व रहेका ६ वटै प्रदेशमा माओवादीभन्दा धेरैले अघि रहेको जस्ता कारणहरू पेस गरेर एमालेले तीन महत्त्वपूर्ण पद राष्ट्रपति, प्रधानमन्त्री र सभामुख आफैँले राख्न चाहेको छ ।

अध्यक्ष ओलीनिकट एक एमाले नेताका भनाइमा राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहोर्‍याउने सम्भावना बढी छ । राष्ट्रपति दोहोरिएमा उपराष्ट्रपति पनि दोहोरिने छन् । भण्डारी दुई वर्ष मात्र राष्ट्रपति भएकी छन् ।

यसअघि रामवरण यादवले करिब आठ वर्ष बिताएका थिए । भण्डारीको दुईवर्षे कार्यकाल विवादरहित ढंगले बितेको र एमाले अध्यक्ष ओलीसँग विश्वासको सम्बन्ध भएका कारण पनि उनलाई पुन: राष्ट्रपति बनाउँदा आगामी दिनमा सत्ता सञ्चालन सहज हुने बुझाइ एमालेवृत्तमा छ । भण्डारी नै निरन्तर हुँदा पूर्वविशिष्ट व्यक्तिका रूपमा तत्काल निवास, सचिवालयजस्ता कुराको व्यवस्थापन पनि गर्नुपर्ने छैन । एमाले–माओवादी एकता तयारीमा लागेकाले भण्डारीलाई दोहोर्‍याउँदा मदन भण्डारीको सम्मान गरेको पनि ठहर्ने तर्क एमाले नेताहरूले गरेका छन् ।

यता उपराष्ट्रपति पुनप्रति पनि एमाले–माओवादीका नेताहरू लचक छन् । प्रचण्ड, वर्षमान पुन, जनार्दन शर्मा, चक्रपाणि खनालजस्ता विगतका लडाकू कमान्डरहरू पुनप्रति सकारात्मक दृष्टिकोण राख्छन् । त्यसमाथि पुनले यो दुईवर्षे कार्यकाल शालीन ढंगले कटाएका छन् । कपिलवस्तु–१ बाट प्रतिनिधिसभाका विजयी सांसद एवं माओवादी लडाकूका पूर्वडेपुटी कमान्डर खनाल भन्छन्, “पद बाँडफाँटको सहमति ठ्याक्कै त भइसकेको छैन । तर पनि, मोटामोटी सहमति अनुसार राष्ट्रपति–उपराष्ट्रपति पुरानै दोहोरिने सम्भावना छ ।” खनाल तिनै हुन्, जो प्रचण्ड प्रधानमन्त्री छँदा उनका प्रमुख राजनीतिक सल्लाहकार थिए । एमालेले राष्ट्रपतिमा भण्डारीको विकल्पमा लालबाबु पण्डित तथा रामप्रीत पासवानलाई उभ्याए माओवादीले जयपुरी घर्तीलाई अघि सार्न सक्नेछ ।

स्रोतका अनुसार एमालेले सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने तयारी गरेको छ । व्यवस्थापिका–संसद्को सभामुख र संविधानसभाको अध्यक्षका रूपमा भूमिका निर्वाह गरिसकेका उनी कानुनी पृष्ठभूमि, भद्र, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरिसकेका अनुभव प्राप्त व्यक्ति भन्दै एमालेले चौथोपटक सभामुख बनाउन लागेको हो । माओवादी केन्द्रका नेता पुनले भने समानुपातिकबाट सभासद् चुनेर आफ्नी श्रीमती एवं निवर्तमान सभामुख ओनसरी घर्तीलाई नै दोहोर्‍याउन चाहेका छन् । त्यसो त माओवादीको एउटा खेमा कृष्णबहादुर महरालाई पनि सभामुखमा अघि सार्न खोजिरहेको छ । तर, महरा स्वयं भने सभामुखभन्दा सरकारमा शक्तिशाली मन्त्री बनेर जान चाहेको उनीनिकट नेताहरूको भनाइ छ ।

एमालेले प्रमुख तीनवटै पद आफूसँग राख्न खोजे पनि माओवादीले सभामुखमा दाबी गर्न सक्नेछ । तर, पार्टी एकीकरण निश्चित भई त्यसको अध्यक्ष आफू बन्न सक्ने अवस्थामा प्रचण्ड राजकीय पदहरूमा धेरै अडान लिने मानसिकतामा छैनन् । नेम्वाङ नै सभामुख भए माओवादीले उपसभामुखमा समानुपातिकबाट सभासद् चुनेर अमृता थापा वा रुकुमबाट प्रतिनिधिसभामा निर्वाचित कमला रोकालाई अघि सार्ने सम्भावना छ ।

१५ पुसभित्र ओलीको नेतृत्वमा सानो मन्त्रिपरिषद् बनाउन वाम गठबन्धन लागिपरेको छ । राष्ट्रियसभासम्बन्धी अध्यादेशमा कांग्रेस र एमालेबीच विवाद सुरु भएको छ । त्यही विवादका कारण राष्ट्रपतिले अध्यादेश जारी गरेकी छैनन् । कांग्रेसले अडान नछाडे राष्ट्रियसभाको कानुन आउनुअघि नै सरकार बनाई छाड्ने तयारीमा गठबन्धन लागिपरेको छ । निर्वाचन आयोगले ढिलोमा ३ पुससम्म प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा राष्ट्रपति कार्यालयमा पठाउने छ । यसपछि राष्ट्रपति भण्डारीद्वारा वाम गठबन्धनका तर्फबाट बहुमत प्राप्त केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । संविधान अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भएकाले कांग्रेसले चाहँदैमा नरोकिने गठबन्धनका नेताहरूको ठम्याइ छ ।

स्रोतका अनुसार पहिलो चरणको मन्त्रिपरिषद् सानो आकारको हुनेछ ।

मन्त्रिपरिषद् गठनपछि माघ पहिलो साताभित्र संसद्को बैठक डाकेर प्रधानमन्त्रीले विश्वासको मत लिने, यसबेलासम्म मन्त्रालयको संख्या टुंगो लगाउने, घटाउने, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख कसलाई बनाउने, मन्त्रीहरू को–को थप्नेजस्ता विषयमा एमाले–माओवादी केन्द्रबीच बाँडफाँट भइसक्ने आकलन नेताहरूले गरेका छन् । त्यसपछि राष्ट्रियसभासम्वन्धी कानुन पारित गराउने गठबन्धनको योजना छ ।

एमाले–माओवादी नेताहरूले माघ अन्तिम साता राष्ट्रियसभाको निर्वाचन गराउने सल्लाह गरिरहेका छन् । राष्ट्रियसभाको परिणामपछि फागुन दोस्रो सातासम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने गठबन्धनको तयारी छ । एक मन्त्री बराबर एक मन्त्रालयका दरले २५ वटै बनाउने वा केही मन्त्रालय कम गरी केहीलाई राज्यमन्त्री बनाउने भन्ने निक्र्योल भने भइसकेको छैन । संघीय सरकारको मन्त्रिपरिषद्मा एमालेका १७ र माओवादीका आठ जना मन्त्री बन्नेचाहिँ करिब निश्चित छ । “हामी संसद्भित्र प्रवेश गर्दासम्म सम्भवत: एउटै पार्टी भएर प्रवेश गरिसक्नेछौँ । त्यसैले सत्ताको बाँडफाँटमा ठूलो सकस पर्ने देखिँदैन,” काभ्रे–२ का एमाले सांसद एवं ओलीनिकट नेता गोकुल बाँस्कोटा भन्छन्, “पद बाँडफाँटमा एमाले–माओवादीबीच रडाको पर्छ भनेर जसरी हेरिएको छ, त्यस्तो रडाको नगरी शान्त छलफलमै बाँडफाँट टुंगिन्छ ।”

– माधव बस्नेत