१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जनवरी १ मा पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

नेपालब्रिटेन डट कम्
५ पुष २०७४, बुधबार ११:१६

काठमाडौं । विगतमा झै अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ लाई अन्तर्राष्ट्रिय टोपी दिवसका रुपमा मनाइने भएको छ । यो पाँचौं अन्तर्राष्ट्रिय टोपी दिवस हो । अन्तर्राष्ट्रियरुपमा नेपालीपनको प्रवद्र्धन र देशभित्र पनि आफ्नो संस्कृतिको सम्बद्र्धनका लागि टोपी दिवस मनाउन लागिएको आयोजकद्वय डा. लेखनाथ काफ्ले (ताइवान) र शंकर बन्जाडेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔंदेखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहेका छौं। अगिल्लो वर्ष विश्वव्यापीरुपमा भएको व्यापक जनसहभागिता र संचार माध्यमहरुबाट पाएको सहयोग यसपटक पनि प्राप्त हुनेछ भन्नेमा हामी पूर्ण बिश्वस्त छौं, विज्ञप्तिमा भनिएको छ ।

गत २-३ बर्ष देखि बिभिन्न स्थानमा जनताहरुले स्वस्फूर्त समूहहरु बनाएर टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाएका खबरहरुले हामीलाई झनै उत्साहित बनाएको छ ।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जातजातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति-जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।

१ जनवरीका दिन आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गरौँ । आ-आफ्नो फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालमा यसैसँग संलग्न फोटाहरुलाई आ-आफ्नो वाल र प्रोफाइल फोटोहरुका रुपमा प्रयोग गरौँ । नेपाली र गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ, विज्ञप्तिमा भनिएको छ ।