१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्यास उद्योगको आगलागी नियन्त्रणमा, पाँच सदस्यीय छानबिन समिति गठन

नेपालब्रिटेन डट कम्
५ पुष २०७४, बुधबार ११:३१

काठमाडौं । पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन् । संघको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए ।

चालकले गाडी स्टार्ट गर्नेक्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गइ उक्त दुर्घटना भएको उनले बताए । ‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सन्चालनको इतिहासमा उद्योगभित्र पहिलोपटक आगलागी भएको छ’–उनले भने । सो आगलागीमा परी थुप्रै ग्यास सिलिन्डर पड्किएको तर कतिओटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन ।

उनले ग्यास उद्योगमा सन्चालनमा रहेका सबै भारतीय गाडी तथा ग्यासका बुलेट २० वर्ष पुरानो भएको अनुमान रहेको र त्यसकारण यो दुर्घटना भएको बताए । बुधबार बिहान ६ बजे सुपर ग्यास उद्योग प्रालिमा भएको आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेस गर्न एलपी ग्यास उद्योग संघले शिवकुमार घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेका छन् ।