८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेशसभाको समानुपातिक सिट बाँडफाँड आज

नेपालब्रिटेन डट कम्
६ पुष २०७४, बिहीबार ०४:०१

काठमाडौं । निर्वाचन आयोगले आज प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट सङ्ख्यालाई आयोगले घोषणा गर्ने तयारी गरेको बताउनु भएको छ । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले हिजो साँझ सबै मतपरिणामलाई पुनः परीक्षण गर्ने कार्य पूरा गरेको र त्यसको प्रतिवेदन आज आयोगमा पेस गर्ने जनाएको छ ।
प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी जम्मा २२० स्थानका मङ्सिर १० र २१ मा समानुपातिकतर्फ मतदान भएको हो । प्रत्यक्षतर्फको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वा्चित हुनेछ । दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा एक दशमलब पाँच प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लाबाट दलहरूले प्राप्त गरेको मत परिणामलाई सात प्रदेश अनुसार केन्द्रीकृत गर्ने कार्यलाई पूर्णता दिएको छ । आयोगले राजनीतिक दलले प्राप्त गरेको सिट बाँडफाँट नतिजा सम्बन्धित राजनीतिक दललाई पठाउने छ । कतिपय जिल्लाबाट प्राप्त विवरणमा अङ्क र अक्षरमा लेखिएको तथ्याङ्क फरक पाइएपछि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको हस्ताक्षरसहितको विवरण माग गरी रुजु गरेको थियो ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा मत परिणाम घोषणाका लागि पेस गर्ने व्यवस्था छ ।
दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या बाँडफाँट गर्दा कुनै सिटका सम्बन्धमा एकभन्दा बढी दलको बराबर भागफल हुन आएमा आयोगले गोला हाली सो सिट कुन दलले प्राप्त गर्ने हो सो कुराको निर्धारण गर्नेछ ।