१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हरिवंशको ठुम्का दीपाश्रीसँग

sarusaru
६ पुष २०७४, बिहीबार ०४:२६

आइतवार बौद्ध नजिकै रहेको निर्माणाधिन समता अस्पतालमा फिल्म ‘शत्रु गते’को एक गीतको छायांकन भइरहेको थियो । कोरियोग्राफर कविराज गहतराज मनिटरमा नायिका आँचल शर्माको एक्सप्रेसन हेर्दै थिए । नजिकै गीत बजिरहेको थियो, ‘तिम्रो रुपै मोहनी ।’

उता, दीपाश्री निरौला, हरिवंश आचार्य, दीपकराज गिरी, शिवहरी पौडेल, पल शाह लगायतका कलाकारहरु मेकअपमा व्यस्त देखिन्थे ।

साँझ करीब साढे ६ बजेदेखि सुरु भएको ‘रुपै मोहनी’ बोलको गीतको छायांकन २ दिनदेखि लगातार भइरहेको थियो । नायिका दीपाश्री बढ्दो जाडोलाई भगाउन घरबाटै सिरक बोकेर आएकी थिइन् ।

‘फिल्मीखबर डटकम’सँगको भेटमा दीपा भन्दैथिइन्, ‘दुई दिनदेखि कठ्यांग्रीदो जाडोमा नाच्दा-नाच्दा मेरो खुट्टा सुनिएको छ । तर, आज मेरो धेरै सीन छैन रे !’ पीडालाई भुल्दै उनी मुस्कुराउन भने छाडेकी थिइनन् ।

लोक लयको ‘रुपै मोहनी’ गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर छ । झन्डै ८० जना कोरससहित छायांकन गरिएको गीतमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

फिल्मीखबर डटकमसँग कुराकानी गर्दै ‘शत्रु गते’का निर्देशक प्रदीप भट्टराईले भने, ‘‘रुपै मोहनी’ गीतको छायांकन आजबाट सकिन्छ । अब पल र आँचलको एक रोमान्टिक गीत खिच्न मात्र बाँकी छ । चैत ९ गते प्रदर्शनमा आउने तयारीका साथ अहिले हामी धमाधम काम गरिरहेका छौं ।’ उनी कलाकार र प्राविधिकबाट मिलेको साथबाट खुसी देखिन्थे ।

निर्देशक भट्टराई अगाडि भन्छन्, ‘स्टारकास्ट कलाकार भएपछि उनीहरुको समय मिलाउन गाह्रो हुन्छ भन्ने सुनेको थिएँ तर ‘शत्रु गते’को छायांकनको बेलामा भने मैले त्यो महशुस नै गर्न पाइनँ । सबै कलाकारहरु समयमै सुटिङ सेटमा आइपुग्नुहुन्छ ।’ उनले यसअघि हिट फिल्म ‘जात्रा’ निर्देशन गरेका थिए ।

छायांकन स्थल वरिपरिका घरहरुमा समेत पर्दामा निकै रुचाइएका कलाकारको उपस्थितिका कारण छुट्टै रौनकता छाएको देख्न सकिन्थ्यो । घरका छत-छतमा सिरक ओढेरै स्थानीयहरु गीतको छायांकन हेरिरहेका थिए । नाम चलेका कालाकारहरु आँखै अगाडि देख्न पाएपछि साँझ १२ बजेसम्म पनि सयौं स्थानीयहरु सुटिङ सेटमै मग्न देखिएका थिए ।

पलको एक झल्को हेर्नका लागि झन्डै २ सयभन्दा बढी युवा-युवतीहरु गीतको सुटिङ भइरहेको समता अस्पताल पुगेका थिए । पलले पनि केहीबेर आफ्ना प्रशंसकहरुसँग रमाइलो गरे । फिल्ममा पल र आँचल, दीपाश्री र हरिवंश आचार्य, दीपकराज गिरी र प्रियंका कार्कीको जोडी बाँधिएको छ ।

फिल्मका निर्माता समेत रहेका हास्यकलाकार हरिवंश आचार्यले ‘फिल्मीखबर’सँगको कुराकानीको क्रममा ‘रुपै मोहनी’ बोलको गीत चाँडै बजारमा ल्याउने बताए । उनले भने, ‘गीतको छायांकन आजबाट सकिँदैछ । यो जाडोमा पनि कलाकारले गर्नुभएको त्याग र समर्पणको म सम्मान गर्छु ।’ गीतमा हरिवंशले दीपाश्रीसँग कम्मर मर्काएको दृश्य कम्ता रमाइलो थिएन ।

मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको ‘शत्रु गते’मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ ।

-फिल्मी खबरबाट ।