१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्यान्सरपीडित माझीको उपचारार्थ आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०६:३१

लहान । पत्रकार कमानन्द माझीको रगतको क्यान्सरबाट पीडित बालक एक्लो छोरा गणेशकुमार माझीको उपचारार्थ सप्तरीका सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग गरेका छन् । राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सहसम्पादकसमेत रहनुभएका पत्रकार कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रगतको क्यान्सरबाट पीडित रहेको भन्दै सहयोगको याचना गरेपछि पत्रकार तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

पत्रकार शैलेन्द्रकुमार सिंहको विशेष पहलमा सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुबाट संकलन भएको रु २२ हजार ५०० नगद आर्थिक सहयोग प्रदान गरेको सप्तरी युथका विष्णु यादवले जानकारी दिनुभयो । यादवका अनुसार अन्य व्यक्ति तथा संस्थाबाट आर्थिक संकलन कार्य भइरहेकाले संकलन हुने रकमसमेत रगतको क्यान्सरबाट पीडित बालक माझीका परिवारलाई प्रदान गरिनेछ ।

जनता मावि खुरहुरियामा कक्षा १० मा अध्ययनरत गणेशको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि केही दिनपछि दिल्ली लैजानुपर्ने पीडित बालकका बुबा कमानन्दले जानकारी दिनुभयो । विगत तीन महिनादेखि रगतको क्यान्सरबाट पीडित छोरा गणेशको आफ्नो क्षमताले भ्याएसम्म खर्च गर्दा पनि नपुगी थप रकमको आवश्यकता परेका कारण सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभएको हो ।