११ बैशाख २०८१, मंगलवार
Follow Us

निर्वाचनद्वारा नेविसङ्घको नेतृत्व चयन : डा महत

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७३, आईतवार १४:४५

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ निर्देशन समितिका सभापति डा प्रकाशशरण महतले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने बताउनुभएको छ ।

समितिका सभापति डा महतले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी सबै महाधिवेशन प्रतिनिधिको टुङ्गो लागिसकेकाले आगामी मङ्गलबार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने बताउनुभएको हो ।

उहाँले जिल्ला र उपत्यकाका केही विवादित क्याम्पसकोे प्रतिनिधिलाई मिलाउँदा महाधिवेशनको प्रतिनिधि बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेवि सङ्घको प्रतिनिधि फर्जी भएको भन्ने भनाइमा सत्यता छैन ।”

डा महतले आफूले व्यक्तिगतरुपमा एकजना पनि प्रतिनिधि नहालेको भन्दै जो नेतृत्वमा आएपनि नेवि सङ्घ आउने भएकाले आफूलाई केही फरक नपर्ने दाबी गर्नुभयो । उहाँले नौ वर्षपछि बल्लबल्ल अधिवेशन हुन लाग्दा पनि महाधिवेशन बहिष्कार गर्ने भन्ने कुरा कल्पना गर्न नसकिने बताउनुभयो ।

सभापति महतले लामो समयसम्म महाधिवेशन नभएको वर्तमान समयमा नेतृत्वले टीका लगाउने परम्परा दोहोरियो भने यो नेपाली काँग्रेस र नेवि सङ्घलाई दुर्भाग्य हुने बताउनुभयो ।
नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट आएको नेतृत्वको पहिलो केन्द्रीय कार्यसमितिले छ महिनाभित्र निर्वाचन गराउने निर्णयअनुसार निर्वाचन गर्न लागेको भन्दै उहाँले यो निर्वाचनमा कोही पनि बाधक हुन नहुने स्पष्ट पार्नुभयो । उहाँले पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचनका पक्षमा रहेकाले कुनै पनि हालतमा अधिवेशन हुने बताउनुभयो ।

नेवि सङ्घका पूर्वअध्यक्ष एवम् निर्देशन समितिका सदस्य प्रदीप पौडेलले अधिवेशन नहुँदा नेवि सङ्घको साख गुम्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि पक्षले यो अधिवेशनलाई स्थगन गर्नु हुँदैन ।”

नेवि सङ्घ केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि सोमबार बिहान ८ देखि १२ बजेसम्म उम्मेद्वारीको मनोनयन दर्ता, साँझ ६ बजे अन्तिम नामावली प्रकाशन र मङ्गलबार निर्वाचनको कार्यतालिका तोकेको छ ।