१३ बैशाख २०८१, बिहीबार
Follow Us

समानुपातिकतर्फ सिट बाँडफाँट सकियो, नतिजा कहिले ?

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०८:४०

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट सकिएको जनाएको छ । गत पुस २ गते सम्पन्न भएको समानुपातिकतर्फको मतगणनापछि आज दलको सिट बाँडफाँट सार्वजनिक गर्ने तयारीमा आयोग रहेको हो । राष्ट्रियसभा निर्वाचनको विवादमा दलहरुबीच सहमति भएपछि मात्र सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ । यद्यपि प्रदेशसभाको परिणाम भने आजै सार्वजनिक गर्ने तयारी भएको छ ।

राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा थ्रेसहोल्ड निर्धारण गर्ने लगायतको काम पूरा भएको जनाएकोछ । प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम सकिसकेको आयोगले दिउँसो बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

राजनीतिक दललाई पठाउने पत्र र आयोगको बैठकमा पेश गर्ने प्रस्ताव तयारीमा आयोग जुटिरहेको बताइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते भएकामा प्रत्यक्षतर्फको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।

उक्त निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभा सदस्यमा प्रदेशसभातर्फ खसेको सदर मतको १ दशमलव ५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको सम्बन्धित संसदमा प्रतिनिधित्व हुन नसक्ने कानूनी व्यवस्था रहेको छ ।