७ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन नेतालाई भारतीय प्रम मोदीको फोन आएपछि राजनीतिमा नयाँ तरंग

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार १२:०९

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष दलका नेतालाई फोन गरेपछि गतिरोध भएको नेपालीको राजनीतिमा नयाँ तरंग आएको छ । भारतीय प्रधानमन्त्री मोदीले हिजो नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बेग्ला बेग्लै फोन गरेका थिए ।
हिजो बिहीबार तीनै नेतालाई प्रधानमन्त्री मोदीको फोन आएपछि प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै पाँच दलको सर्वदलीय बैठक बोलाउनुलाई संयोग मात्र मानिएको छैन । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस शीर्ष नेतालाई शितल निवासमा बोलाएर राष्ट्रियसभाको निर्वाचनबारे सरकारले प्रस्तुत गरेको अध्यायदेशमा छलफल गरेकी थिइन् ।
सम्भवतः तीन दलबीचको तिक्ता भारतीय प्रधानमन्त्री मोदीको फोनले मेटाइदिएको छ । आज बालुवटारमा सम्पन्न बैठक बिना निष्कर्ष टुंगिए पनि यसले आइतबारसम्म निकास पाइसक्ने विश्लेषण गरिएको छ । सरकारले प्रस्तुत गरेको अध्यायदेश राष्ट्रपति अनुमोदन गर्ने, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पाँच वर्षे कार्यकालमा आधा–आधा प्रधानमन्त्री बन्ने सहमति पनि भारतीय प्रधानमन्त्री मोदीले नै गराइएको जानकारहरु बताउँछन् ।
भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई फोन गरेर बधाइ मात्र दिएनन, भारत भ्रमणको निम्तोसमेत दिए । संसदमा सबैभन्दा ठूलो दल भएकोले अब नेपालमा राजनीतिक स्थायित्व हुने विश्वाससमेत प्रधानमन्त्री मोदीले व्यक्त गरेका थिए ।
प्रधानमन्त्री मोदीले कांग्रेस नेता तथा प्रधानमन्त्री देउवालाई भने तीनै तहको निर्वाचन सम्पन्न गराउन सफल भएकोमा बधाइ दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग सन्चोविसन्चोबारे प्रधानमन्त्री मोदीले सोधी खोजी गरेका थिए । छोरा प्रकाश दाहालको निधनमा समेत प्रधानमन्त्री मोदीले टेलिफोन गरेर समवेदना दिएका थिए । यसपटक चितवनबाट निर्वाचित भएकोमा दाहाललाई बधाइ दिएका थिए ।
– सुनयना राउत