१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पुस १५ सम्म मेलम्ची दोस्रो खण्डको सुरुङको काम सम्पन्न हुने

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार १२:२२

काठमाडौं । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान–ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने बताइएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब नौ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

सिन्धु–ग्याल्थुम खण्डमा कमजोर चट्टान भेटिएकाले काम ढिला भए पनि सम्पन्न गर्ने सम्झौता भएकै मितिमा सकिने समितिले जनाएको छ । यो खण्डमा ५०० मिटरभन्दा बढी सुरुङ खन्न बाँकी छ ।

इटालियन ठेकेदार कम्पनी सिएमसीले आगामी चैत १२ सम्म सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सुरुङसँगै मुहानस्थलमा ‘हेड वक्र्स’ का काम पनि भइरहेको प्रवक्ता पन्तले बताउनुभयो ।

सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई सफलरुपमा परीक्षण पनि भएको छ । अर्को आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माणको काम शुरु भएको छ ।

विसं २०७५ को शुरुआतसँगै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । सुन्दरीजलदेखि उपत्यकामा विभिन्न भागमा पानी वितरणका लागि पाइप बिच्छ्याउने कामको जिम्मेवारी भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ ।

पहिलो चरणमा पानी वितरण गर्न तोकिएका स्थलमा चैतअगावै पाइप बिच्छ्याइ सकिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो । सुरुङ निर्माण सम्पन्न भएपछि सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ ।