१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजनीतिक संक्रमणकालको अन्त्य

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार १३:५८

तुलसीपुर । उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, दाङले आज उहाँको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मुलुकलाई सबै समस्याबाट मुक्त गर्दै संमृद्धितर्फ लैजानका लागि सबै दलहरु थप जिम्मेवार हुनुपर्ने उहाँको धारणा रहेको छ । उहाँले अबको तीन हप्तामा नयाँ सरकार गठन हुने र त्यो सरकारले मुलुकलाई समृद्धिको दिशामा लैजाने उहाँको भनाइ छ ।

उहाँले दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन सम्भव नभए अहिलेको रुकुम, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियाको छुट्टै प्रदेश बनाएर दाङलाई राजधानी बनाउन सकिने र यस विषयमा राजनीतिक नेतृत्वसँग छलफल भइरहेको उहाँको भनाइ छ ।