१५ चैत्र २०८०, बिहीबार
Follow Us

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार १४:०५

कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको मृत्यको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् ।

स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्काे आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।

घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भए पनि कुनै सहमति नभएको नागरिक समाजका अगुवा एवं सञ्चारकर्मी रत्न कार्कीले जानकारी दिनुभयो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

प्रशासनले सबै माग आफूहरूले पूरा गर्न नसक्ने र कतिपय निर्णय मन्त्रालयले गर्नुपर्ने भएकाले मागका बारेमा आइतबार बिहानसम्म पर्खन आग्रह गरेबोजिम आजको छलफल सकिएको उहाँले जानकारी दिनुभयो ।

छलफलका लागि सुर्खेतबाट क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सूर्यविक्रम शाह, अनुसन्धानका प्रहरी नायब महानिरीक्षक टेकेन्द्र शाक्यसमेत कालिकोट पुग्नुभएको थियो ।

क्षेत्रीय प्रहरी प्रमुख बोहोराले स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि भएपनि प्रतिरक्षाका लागि अश्रुग्यास प्रयोग गरिएको बताउनुभयो ।

शुक्रबार तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का ऐडीको मृत्यु भएको थियो ।