११ बैशाख २०८१, मंगलवार
Follow Us

मेरो प्राथमिकतामा महिलाका एजेन्डा

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार १४:०८

दुर्गा पौडेल, सांसद, राजमो

प्युठानबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बनेकी दुर्गा पौडेलले नेपाली कांग्रेसका उम्मेदवार तथा योजनाविद् डा.गोविन्दराज पोखरेललाई झन्डै १६ हजार मतअन्तरले पराजित गरिन् । आफ्नो जितको आधार वाम गठबन्धन र महिला उम्मेदवार भएको पौडेलको भनाइ छ । कृषि, पर्यटन र ऊर्जालाई पहिलो प्राथमिकतामा राखेर योजना अघि बढाउने सोच पौडेलले बनाएकी छन् । उनका भावी योजना तथा जितका आधारबारे सञ्जीव अधिकारीले पौडेलसँग गरेको कुराकानी ः

० जनप्रतिनिधि बन्न ठूलै संघर्ष गर्नुप¥यो ?
– चुनावी प्रचारमा भड्किलो प्रचलन सुरु भयो, मत किन्ने संस्कारलाई चिर्न धेरै अप्ठ्यारो प¥यो । जनताले महिला नेतृत्वलाई दिएको समर्थन देख्दा एकदमै खुसी छु ।

० जनप्रतिनिधि बन्न के कुरा सहयोगी बन्यो ?
– जनताले वाम गठबन्धनलाई रुचाएको पाइयो । महिला र वाम गठबन्धनको साझा उम्मेदवारलाई जनताले समर्थन गरेकाले नै मेरो जित सम्भव भएको हो । जनता उम्मेदवारको पृष्ठभूमि जान्न सक्ने भइसकेका छन् । उम्मेदवारको मूल्यांकन गर्नसक्ने जनता भएकाले नै मेरो पक्षमा राम्रो माहोल बन्यो ।

० पहिले र अहिलेको निर्वाचनमा के फरक छ ?
– फरक छ, अहिले जनता सचेत भइसकेका छन्, पैसाको भरमा चुनाव जित्छु भन्नेहरूका अब दिन गएजस्तो लाग्यो । अब विकासको एजेन्डाबाट मात्र राजनीति सम्भव हुन्छ भन्ने महसुस गरें ।

० तपाईंको प्राथमिकतामा के पर्छ ?
– मेरो पहिलो प्राथमिकता महिलाको इस्यु हुन्, त्यसपछि पिछडिएका जातजातिको इस्यु पनि समेट्नुपर्नेछ । नीतिकै अभावले महिलाहरू पछि पर्नुपर्ने अवस्था छ । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ, तर व्यवहारमा उतार्न कठिनाइ भइरहेको छ ।

० के गर्दा प्रतिनिधित्व सुनिश्चित हुन्छ ?
– हामीले कतिपय निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने छ । अब केही समय महिलाका लागि छुट्याइएको आरक्षणलाई कायमै राख्नुपर्छ । यदि यसो गरिएन भने हार्ने ठाउँमा महिलालाई उम्मेदवार बनाउने काम मात्र हुन्छ । आरक्षण भयो भने महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुन्छ ।

० विकास निर्माण प्राथमिकतामा पर्दैन ?
– पर्छ, किन नपर्नू ? विकास निर्माण हाम्रो साझा दायित्व हुन्छ । यस विषयमा हामीले लिखित समझदारी नै गरेका छौं । प्युठानको विकासका लागि हामीले साझा योजना बनाएका छौं, त्यसलाई लागू गरेर देखाउने छौं ।

० तपाईंसँग प्युठानी जनताको अपेक्षा के छ ?
– प्युठानका जनताको अपेक्षा भनेकै विकास निर्माण हो । म जति पनि जिल्लाको विभिन्न ठाउँमा पुगें, उहाँहरूले विकास निर्माणकै कुरा अघि सारेका छन् । जनताले आधारभूत आवश्यकता माग गरेका छन् । पिउने पानी, बाटो नभएको ठाउँमा बाटो, स्कुल नभएको ठाउँमा स्कुल माग भएको छ ।

० पूरा गर्न सक्नुहुन्छ ?
– यो जनताको नैसर्गिक अधिकार हो, यो माग पूरा गर्नु जनप्रतिनिधिको दायित्व हो । यो माग हटाउनै सकिँदैन, यो मागप्रति हाम्रो पूर्ण समर्थन छ । हामी पहिलो प्राथमिकतामा राखेर यी माग पूरा गर्छांै ।

० पूरा गर्न सक्नु हुन्छ भन्ने के आधार छन् ?
– धेरै आधार छन्, व्यवस्थित बनाउन मात्र नसकिएको हो । यसलाई व्यवस्थित बनाउनेवित्तिकै यो पाँच वर्षभित्र विकासको सन्तुलित रूप प्युठाने जनताले देख्न पाउने छन् ।

० प्युठानका सम्भावना के के छन् ?
– कृषि, पर्यटन र ऊर्जा प्युठानको सम्भावना भएको क्षेत्र हो । धार्मिक पर्यटनलाई हामीले ग्रामीण पर्यटनसँग जोडेर लगियो भने यसको सम्भावना व्यापक छ । प्युठान प्राकृतिक रूपमै सौन्दर्य मात्र छैन, धार्मिक रूपमा पनि त्यत्तिकै चर्चित छ । स्वर्गद्वारी एउटा उदाहरण हो । अर्को लघु ऊर्जा पनि प्युठानको सम्भावना हो । त्यस्तै कृषि अर्को सम्भावनाका भएको क्षेत्र हो ।

० कृषिमा आधुनिकता भित्रिसकेको हो ?
– भित्रिसकेको छैन, अहिलेसम्म परम्परागत कृषिमै प्युठाने जनता आधारित छन् । त्यसलाई आधुनिकतातर्फ लैजाने पूर्वाधार विकास गर्न आवश्यक छ । धान खेती, बाख्रा, गाई पालनालाई व्यावसायिक बनाउन सकियो भने प्युठानको विकासमा कृषि महत्वपूर्ण हुनसक्छ ।

० योजनाको खाका तयार गर्नुभएको छ ?
– तत्काल छैन, तर विज्ञहरूलाई राखेर पाँच वर्षे योजना बनाउने छु । पहिलो, दोस्रो, तेस्रो वर्षमा यति गर्ने भनेर हामी योजना बनाउँछौं । पाँच वर्षभित्र विकासको ठूलै पूर्वाधार हामी तयार गर्न सक्छौं ।

० तपाईंको विवाह र अघिल्लो निर्वाचन चर्चित भयो नि ?
– त्यो वास्तविक कुरा नै हो, त्यसलाई म अन्यथा लिन्न । ती स्वाभाविक घटना थिए । विवाह एउटा घटना हो, निर्वाचनमा उठिसकेपछि जित्नुपर्छ भन्ने अर्को पक्ष हो ।

० अहिले चुनाव जित्दा कस्तो महसुस भयो ?
– मतगणनाको फाइनल रिजल्ट नआउँदासम्म मनमा खुल्दुली हुँदो रहेछ । जितिसकेपछि चुनौतीको आभास हुँदो रहेछ । जनताले मलाई विश्वास गरेर मतदान गर्नुभएको छ, अब कसरी राम्रो काम गर्ने चिन्ताले सताउँदो रहेछ । नीति निर्माण गर्ने ठाउँमा आफ्ना विचारलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि खड्किदो रहेछ ।

० चुनौतीलाई कसरी लिनुभएको छ ?
– चुनौतीलाई अवसरको रूपमा लिएकी छु । कति लिनसक्छु, त्यो पाँच वर्षपछि बताउँला । एउटा महिलालाई चौतर्फीबाट केही गर्न सक्दैन भनेर आलोचना भएको थियो, त्यो भ्रमलाई जनता स्वयंले चिरिदिएका छन् । जनताले मलाई विश्वास गरेका छन्, त्यो विश्वासलाई म आत्मसात गर्नेछु । जनताको विश्वासलाई पूरा गर्न सक्छु भन्ने आँट र हिम्मत मसँग छ ।

० तपाईंका एकल प्रयास आगामी दिनमा हेर्न पाइन्छ ?
– प्रतीक्षा गर्नुहोला, त्यो म देखाइदिन्छु । म साझा उम्मेदवार हुँ, त्यसैले मेरो भूमिका सामूहिक हुनेछ । स्थानीय तह, प्रदेश र संघीय संसद्मा काम काम गर्नका लागि धेरै राम्रा आधार बनेका छन्, के गर्न सकिन्छ, त्यो गरेरै छाड्ने छौं, त्यसको मूल्यांकन जनताले गर्नेछन्, हामीले गरेको कामको समीक्षा यसरी नै पाँच वर्षपछि यसरी छलफल गरौंला ।