१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कालिकोटमा २ घण्टाका लागि कर्फ्यु हट्यो

sarusaru
९ पुष २०७४, आईतवार ०३:१६

काठमाडौं । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा लगाइएको कर्फ्यु आइतबार बिहान दुई घण्टाका लागि हटाइएको छ । आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेले जानकारी दिए ।

उनले बिहान १० बजेपछि स्थिति हेरेर कर्फ्यू लगाउने कि हटाउने भन्ने निर्णय लिने बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले अवस्था सामान्य छ । त्यसैले कर्फ्यू खुकुलो पारेका हौं । दुई घण्टापछि स्थिति हेरेर आवश्यक निर्णय लिन्छौं ।’ म्यादी प्रहरीले फेरि आन्दोलन चर्काए कर्फ्यू लगाउने र नगरे क्रमशः हटाउँदै जाने उनको भनाइ थियो ।

कालिकोटमा रासनको विषयमा आन्दोलनमा उत्रिएका म्यादी प्रहरीमाथि गोली चलाउँदा शुक्रबार विवेक ऐडीको मृत्यु भएको थियो । स्थिति नियन्त्रण बाहिर जानसक्ने खतरा बढेपछि शनिबार कर्फ्यू लगाइएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

कालिकोट घटनाबारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ । साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

– अनलाइन खबरबाट ।