१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अध्यक्ष भवन भट्टको नेपालमा ५ महत्वपूर्ण भेटघाट

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ०३:३७

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको संघको एक प्रतिनिधि मण्डलले यही पुष ३ गते परराष्ट्र सचिव शंकरदास बैरागीसंग भेट गर्‍यो । सो अवसरमा अध्यक्षले आठौं गैरआवासीय नेपाली विश्व सम्मेलनको अवसरमा सहआयोजकका रुपमा परराष्ट्र मन्त्रालयले पुर्‍याएको सहयोग र गैरआवासीय नेपालीहरुको सम्मानमा आयोजना गरेको दिवा भोजको लागि संघ तथा सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट धन्यवाद दिनुभयो ।

अध्यक्ष भट्टले यस कार्यकालमा हाम्रो देशको सरकार प्रमुखलाई हाम्रा प्रमुख सहयोगी दश देशहरुको स्टेट भिजिटको व्यवस्था गर्न संघले भूमिका खेल्ने र यस भ्रमणबाट नेपालमा बिदेशी लगानी भित्र्याउन पहल गर्ने संघको चहाना रहेको बताउनु भयो । उहाँले विभिन्न देशहरुमा रहेका संघका राष्ट्रिय समन्वय परिषद्संग आर्थिक कूटनीतिका क्षेत्रहरुमा सहकार्य र समन्वय गर्न समेत अनुरोध गर्नुभयो ।

स्थानिय निकाय, प्रतिनिधि र प्रदेश सभाको सफलतापूर्वक निर्वाचन सम्पन्न भइृसकेकोले अब सबै मिलेर राष्ट्रलाई समृद्ध बनाउन सबै हातहरु एकै साथ लाग्न पर्ने भएको औंल्याउँदै गैरआवासीय नेपालीहरुले यस निम्ति प्रथम चरणमा दश अरबको सामूहिक लगानी गर्ने उद्देश्य लिएको र यसमा परराष्ट्र मन्त्रालयलाई सहजकर्ताको भूमिका निर्वाह गर्न अनुरोध गर्दै संघका संरक्षक जीवा लामिछानेलाई यसबारे जानकारी गराइदिन अनुरोध गर्नुभयो ।

संरक्षक लामिछानेले गैरआवासीय नेपाली संघले उठाउदै आएका धेरै विषयहरु सरकारले संवोधन गरिसकेको अवस्थामा परोपकारी कार्य तथा लगानी मार्फत राष्ट्रलाई सहयोग गर्ने गैरआवासीय नेपालीहरुको दायित्व भएको बताउनु भयो । उहाले त्यसअवसरमा दश अरवको सामूहिक लगानीको प्रारम्भिक खाका प्रस्तुत गर्दै यसमा प्रमोटरका रुपमा ४१ प्रतिशत लगानी गैरआवासीय नेपालीहरुले गर्ने तथा पाँच पाँच प्रतिशत लगानी नेपाल सरकार र निजि क्षेत्रले गर्ने र बाँकी रहेको ४९ प्रतिशत लगानी आईपिओ मार्फत बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि छुट्याइने बताउनु भयो । यस लगानीलाई जलविद्युत, कृषि, पूर्वधार बिकास र बैंकिडमा लगानी गर्ने योजन रहेको जानकारी दिंदै यस बिषयका जानकार अनल भट्राईलाई थप प्रष्ट पार्न अनुरोध गर्नुभयो ।

भट्राईले आईपिओ मार्फत बैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइने सामूहिक लगानीको लागि नेपाल सरकारले धितो पत्र बोर्ड मार्फत जलबिद्युत आयोजनाहरुमा स्थानीयहरुलाई लगानीको लागि अग्राधिकार प्रदान गरे जस्तै व्यवस्था गर्न पर्ने बताउँदै छिट्टै नै अन्य सरोकारबाला निकायहरुसंग समन्वय गरी प्रस्तावना पेश गर्ने बताउनु भयो ।

सो अवसरमा सचिव बैरागीले संघको नयाँ नेतृत्वमा चयन हुनु भएकोमा अध्यक्षलाई वधाई दिंदै संघले अघि सारेको प्रस्तावनाको लागि धन्यवाद दिनु भयो र यसको कार्यान्वयनमा परराष्ट्र गैरआवासीय नेपाली सम्बन्धी हेर्ने मन्त्रालय भएकोले मन्त्रालयले पूर्ण सहयोग गर्ने तथा यसका लागि छुट्टै फोकल व्यक्ति तोकिदिने प्रतिवद्धता समेत परराष्ट्र सचिवले व्यक्त गर्नु भयो । उहाँले विभिन्न देशहरुमा आर्थिक कूटनीतिमा गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्न सबै दूतावास तथा नियोगहरुलाई मन्त्रालयले परिपत्र जारी गरिसकेकोले त्यही समन्वय गर्न समेत सुझाव दिनुभयो ।

सो भेटको अवसरमा संघका अध्यक्ष, संरक्षक जीवा लामिछाने, सल्लाहकार रामेश्वर शाह, ओसिनियाकी महिला क्षेत्रिय उपसंयोजक प्रीति शर्मा, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कपिलदेव थापा, अनल भट्टराई, सचिवालय कार्यकारी निर्देशक र परराष्ट्र मन्त्रालय एनआरएन डेक्स हेर्ने उपसचिव डमरु बल्लभ पौडेल तथा शाखा अधिकृत जीत बहादुर कार्कीको सहभागिता रहेको थियो ।

विद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका प्रतिनिधिहरुसंग भेट:

पुस ४ गते संघका संरक्षक जीवा लामिछानेको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले जलविधुत लगानी तथा विकास कम्पनी लिमिटेडका प्रतिनिधिहरुसंग भेट गरी संघले अघि सारेको दश अरवको सामूहिक लागानी बारे अवगत गराउँदै कसरी सहकार्य र समन्वय गर्न सकिन्छ भन्ने जिज्ञाशा राख्यो ।

सो अवसरमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका निर्देशकहरुले गैरआवासीय नेपालीहरुका लागि भनेर कम्पनीले रेमिट हाइृड्रो परिकल्पना गरेकोमा संघबाट नै यस्तो प्रस्ताव आउनु अत्यन्तै स्वागत योग्य भएको बताउनु भयो । उहाहरुले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड संघले स्थापना गर्न लागेको यस लगानी कम्पनीमा पाँच प्रतिशत लगानी गर्न इच्छुक रहनुका साथसाथै आवश्यक प्रविधिक सहयोग गर्न समेत तयार रहेको जनाउँदै प्रस्तावका लागि आह्वान गर्नुभयो र आवश्यक परेको खण्डमा संयुक्त रुपमा यस परियोजनाका लागि पहल गर्न सकिने समेत बताउनु भयो ।

भेटमा अवसरमा संघका संरक्षक जीवा लामिछाने, सल्लाहाकार रामेश्वर शाह, ओसनियाकी महिला क्षेत्रिय उपसंयोजक प्रीति शर्मा, अनल भट्टराई, सचिवालय कार्यकारी निर्देशक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेल तथा निर्देशकहरु मुक्तिदेव न्यौपाने, पराक्रम शर्मा लगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष भवन भट्टको श्रम सचिवसंग भेट:

पुस ४ गते संघका अध्यक्ष, संरक्षक, सल्लाहकार, ओसेनियाकी महिला क्षेत्रिय उपसंयोजक प्रीति शर्मा, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कपिल देव थापा, अनल भट्टराई, सचिवालयका कार्यकारी निर्देशकको टोलीले श्रम सचिवसंग भेट गरी बैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरी संघले स्थापना गर्न लागेको दश अरवको लगानी कम्पनी बारे अवगत गरायो । यसै अवसरमा संघका अध्यक्षले बैदेशिक रोजगारीमा गएकाहरुले भोग्नु परेको समस्या र संघको सुझाव समेत लिखित रुपमा पेश गर्दै समाधानको लागि अनुरोध गर्नुभयो ।

श्रम सचिव, लक्ष्मण मैनालीले बैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरी संघले अघिसारेको दश अरवको परियोजना अत्यन्तै उपयोगी हुने र मेहनतको कमाईको पनि सदुयोग हुने भएकोले यस कार्यमा मन्त्रालयको पूर्ण सहयोग र सर्मथन हुने बताउनु भयो । उहाँले बैदेशिक रोजगारीमा गएकाहरुको पूँजी व्यवस्थापन गर्ने योजना अनुरुप अब बन्दै गरेको बैदेशिक रोजगार ऐनमा समेत सामूहिक कोषको अवधारणा अघि सारिएको समेत जानकारी दिनु भयो र यसलाई टेकेर बैदेशिक रोजगारीमा गएकाहरुलाई सामूहिक लगानी गर्न समेत बाटो खुल्ने बताउनु भयो । भेटमा मन्त्रालयका सहसचिव र उपसचिवहरुको सहभागीता रहेको थियो ।

अध्यक्ष भवन भट्ट र धितो पत्र बोर्डका अध्यक्ष बीच भेट:

संघका अध्यक्षको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पुस ४ गते धितो पत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीसंग भेट गरी संघको दश अरवको सामूहिक लगानीको परियोजना बारे अवगत गरायो र धितो पत्र बोर्डलाई यस कार्यमा सहजिकरण गरी दिन तथा यसका लागि आवश्यक बिनियमहरुको समेत व्यवस्था गर्न अनुरोध गर्‍यो ।

अध्यक्ष कार्कीले गैरआवासीय नेपाली संघका प्रतिनिधि मण्डलको स्वागत गर्दै गैरआवासीय नेपालीहरुलाई धितो पत्रको कारोवारमा कसरी समायोजन गर्न सकिन्छ भनी अध्ययन गर्न एक कार्यदलको नै व्यवस्था गरेको र त्यसको समन्वय धितो पत्र बोर्डका कार्यकारी निर्देशकले गरेको बताउँदै यस कार्यदलमा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्वको लागि अनुरोध समेत गर्नुभयो । संघको तर्फबाट परियोजनाको प्रस्ताव आएपछि त्यस अनुरुप आवश्यक व्यवस्थाहरु गर्न सकिने जानकारी गराउँदै यो अवधारणाको लागि धन्यवाद दिनुभयो र पूण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो भेटका अवसरमा संघका अध्यक्ष, संरक्षक, सल्लाहकार, ओसनियाकी महिला क्षेत्रिय उपसंयोजक प्रीति शर्मा, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कपिल थापा, अनल भट्टराई, सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो भने बोर्डका तर्फबाट अध्यक्ष, कायकारी निर्देशक तथा निर्देशकहरुको सहभागिता रहेको थियो ।


मेघा प्रोजेक्ट सम्बन्धी बैठक

पुस ५ गते संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा संघका मेघा प्रोजेक्ट लाप्राक नमूना बस्ती तथा एनआरएनए पार्क सम्बन्धी छलफल भयो । सो बैठकमा संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, पूर्व आइसीसी सदस्य निरज गोबिन्द श्रेष्ठ, ओसेनियाकी क्षेत्रिय महिला उपसंयोजक प्रीति शर्मा, परामर्शदाता किच चित्रकार र निर्माण सम्बन्धी जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधि नरेश तुलाधरको सहभागिता रहेको थियो ।

बैठकले संघले अघि सारेका परियोजनका नक्शाहरु परिमार्जन गर्दा झनै समस्याहरु आउने तथा हरेक मान्छेको फरक फरक धारणहरु हुने भएकोले त्यस तर्फ जानु भन्दा बिभिन्न गृहकार्य गरी तयार पारिएको नक्शा र सोही अनुसार सरोकारवाला निकायहरुसंग स्वीकृत समेत लिए अनुसार नै अघि बढ्दा उचित हुने धारणा आयो ।

बैठकले संघको तर्फबाट मेघा प्रोजेक्टहरु प्राविधिक रुपमा हेर्नेगरी अनररी काउन्सिलका सदस्य सुभाष अधिकारी तथा महिला क्षेत्रिय उपसंयोजक प्रीति शर्मालाई छनोट गर्दै परामर्शदाता र ठेकेदारले शंखमुल पार्क सम्बन्धी परिमार्जनको लागि पेश गरेका कोटेशनहरु संघका प्राविधिकहरु मार्फत मूल्यांकन गरी सुझाव अनुसार अघि बढ्ने समेत निर्णय गर्‍यो ।

सो बैठकले नमूना बस्तीका परामर्शदाताले बालुवा भन्दा ढुङ्गाको धुलोबाट ईटा बनाउँदा लागत धट्नुका साथै हिउंदमा समेत ईंटा बन्ने भएकोले सोही अनुसार गर्न समेत सुझाव दियो ।

अन्तमा अध्यक्ष भट्टले छिट्टै यी आयोजनाहरु सम्बन्धी कार्यदलहरु चयन गरी अगाडि बढ्ने बताउँदै बैठकको समापन गर्नुभयो ।