११ बैशाख २०८१, मंगलवार
Follow Us

रेशम चौधरीको सांसद बन्ने बाटो तत्काल अवरोध

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ११:४८

काठमाडौं । फरार रहेकै अवस्थामा चुनाव जितेका राष्ट्रिय जनता पार्टी नेपालका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्ट्रारको आदेश कानुनसम्मत भएको फैसला सुनाएको छ ।

साथै, आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुनसुकै बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधानसमेत स्मरण गराएको छ । सर्वोच्चले अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नसक्ने ठहर गरेको छ ।

फैसलामा अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्नेमा त्यसो नपाइएको उल्लेख गरिएको छ । अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्वारा प्रदान गरिने सुविधा वा हक उपभोग गर्न गैरबाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहीनताको स्थिति सृजना हुनसक्ने सर्वोच्चले बताएको छ ।