१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाम गठबन्धनले प्रदेश सरकार गठनको तयारी थाल्यो

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ११:५६

काठमाडौं । बाम गठबन्धनले प्रदेशमा सरकार गठनका लागि छलफल सुरु गर्ने भएको छ । प्रदेश सभाको समानुपातिकतर्फ सीटको औपचारिक बाँडफाँटसँगै अधिकांश प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का जस्तो देखिएपछि छलफल थाल्ने भएको हो ।

प्रदेशसभामा वाम गठबन्धनका दल सोही प्रदेशबाहेक अन्यमा अरु पार्टीभन्दा अगाडि छन् । तर प्रदेशहरुमा नेतृत्व कसको हुने भन्ने बारेमा भने अनिर्णित जस्तो देखिएका दलहरु समानुपातिक सीट बाँडफाँटसँगै त्यसबारे छलफल गर्ने तयारीमा छन् । निर्वाचन आयोगले शुक्रवार बाँडफाँट गरेको सीट अनुसार सातवटै प्रदेश सभाको समानुपातिकतर्फ एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कूल २ सय २० सिटमध्ये १ सय १० वटा पाएको छ ।

प्रदेशस्तरमा २ नम्बर बाहेकका सबै प्रदेशमा गठबन्धनको बहुमत पुगेको देखिन्छ । ती प्रदेशमा गठबन्धनको सरकार बनाउने तय भइसकेको तर नेतृत्वबारे छलफल हुन बाँकी नै रहेको नेताहरुले बताएका छन् । एमाले, प्रदेश १ र ३ मा एक्लै सरकार बनाउन सक्ने अवस्थामा समेत छ । प्रदेश १ मा कुल ९३ सीट मध्ये बहुमतका लागि ४७ चाहिनेमा एमाले एक्लैले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सीट ल्याएको छ ।

प्रदेश ३ मा कुल ११० सीटमध्ये बहुमतका ५६ आवश्यक पर्नेमा एमालेले समानुपातिकसहित ५८ सीट हासिल गरेको छ । तर प्रदेश २ मा भने दुई मुख्य तराई केन्द्रित दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सीट जोड्दा बहुमत पुगेको छ ।