१३ बैशाख २०८१, बिहीबार
Follow Us

डा. देवकोटाको स्वास्थ्यलाभका लागि काठमाण्डौंमा दीप प्रज्ज्वलन

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार १८:५७

लण्डन ।
कित्सकीय भाषामा ‘कोलान्जिओकार्सिनोमा’ भनिने पित्तथैली र पित्तनली वरिपरिको क्षेत्रमा हुने जटिल क्यान्सरका कारण गम्भीर स्वास्थ्यावस्थासँग जुझिरहनुभएका सुविख्यात एवम् वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको उपचार यतिबेला बेलायतस्थित किंग्स कलेज अस्पतालमा जारी छ । लण्डनस्थित सुत्रहरूका अनुसार डा. देवकोटाको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएका कारण शल्यक्रिया समेत गर्न नसक्ने अवस्था रहेको छ भने अस्पतालले उहाँलाई केमोथेरापी दिएर आवश्यक उपचार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

करिव तीन साताअघि उपचारकै लागि सपत्नी सुटुक्क लण्डन पुगेका डा. देवकोटाको क्यान्सरको जटिलताले उता सम्बन्धित चिकित्सकहरूलाई उपचारमा निकै व्यवधान पुगिरहेको बताइन्छ, यता भने क्यान्सरपीडित देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा नेपाली चिकित्सकहरूले दीप प्रज्ज्वलन गरेका छन् । स्त्रीरोग विशेषज्ञका रूपमा ख्याति कमाएका डा. भोला रिजालको अगुवाईमा आइतबार दीप प्रज्ज्वलन गरिएको हो ।

एसियाकै अब्बल न्युरो सर्जनका रुपमा परिचित ६३ वर्षीय डा. देवकोटाको अवस्था गम्भीर रहेको खबर फैलिएपछि उहाँको स्वास्थ्य लाभको कामनासहित लगभग चार दर्जन चिकित्सकहरू भेला भई दीप प्रज्ज्वलन गरिएको छ । आधुनिक चिकित्सा विज्ञानका अनुयायीहरूले अवलम्वन गरेको यस धार्मिक विधिले बिरामी डा. देवकोटाको स्वास्थ्यमा कस्तो चमत्कार गर्ने हो, उत्सुकताको विषय बनेको छ ।