७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली भाषामा ड्राइभर लाइसेन्स लिन अमेरिकामा हस्ताक्षर अभियान

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार २२:४५

होमप्रसाद लम्साल ।

अमेरिका– अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राइभर लाइसेन्स परीक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले क्यालिफोर्नियाका नेपालीहरुले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन्।

क्षेत्रीय संयोजक जोशीले एक प्रेश विज्ञप्ति जारी गर्दै अमेरिकामा बस्ने सबैले हस्ताक्षर अभियानमा सहभागी भइ अधिकार प्राप्तिको लागि ऐक्यबद्धता जनाइदिन अनुरोध गरेका छन्। यसअघि गरिएको प्रयास स्वरुप मेरिल्याण्डमा नेपाली भाषाबाटै ड्राइभर लाइसेन्सको परीक्षा दिन पाउने नियम बनेको जोशीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस हस्ताक्षर अभियानमा हस्ताक्षर गर्न www.change.org मा गएर अमेरिकामा बस्ने नेपालीले हस्ताक्षर गर्न सक्नेछन।

मेरिल्याण्ड राज्यमा नेपाली भाषामा ड्राइभर लाइसेन्सको परीक्षा दिन पाउने कानुन बनिसकेपछि नेपाली समुदाय बढी रहेको राज्य क्यालिफोर्निया र टेक्सासमा पनि सो अभियान थालिएको हो। क्यालिफोर्नियामा रहेका नोपलीहरुले हस्ताक्षर अभियानलाई सफल बनाउन विभिन्न तहमा समिति बनाई सक्रिय छन्।

क्यालिफोर्नियाको लस एन्जल्स र सान फ्रान्सिस्कोमा एक लाख नेपाली बसोबास गर्ने अनुमान गरिएको छ। भुट्नीज् नेपाली अमेरिकन, नेपाली र नेपाली मुलका नेपाली अमेरिकन तथा अमेरिकामा बस्ने सबै व्यक्तिले यो अभियानमा हस्ताक्षर गर्न सकिने क्षेत्रीय संयोजक जोशीले बताए। यो अभियानलाई सफल बनाउन अमेरिकामा रहेका विभिन्न स्थानीय संघ सस्थाहरु सक्रिय छन्।