४ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेसबाट समानुपातिकमा को–को सांसद बन्दैछन् (नामावलीसहित)

नेपालब्रिटेन डट कम्
१० पुष २०७४, सोमबार १०:४८

काठमाडौं । प्रत्यक्षतर्फ ज्यादै कमजोर उपस्थिति भएको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने सन्तोषजनक परिणाम प्राप्त गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने ४० सिट जितेको छ । समानुपातिकतर्फ सांसद हुन पाउने ४० जना भाग्यमानी को को होलान् ? भन्ने लेखाजोखा नेपाली कांग्रेस वृत्तमा भएको छ ।
प्रत्यक्ष र समानुपातिक गरी ६३ मध्ये ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान संविधानमा छ । प्रत्यक्षतर्फ एकजना महिलाले पनि चुनाव नजितेका कारण समानुपातिकतर्फबाटै ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यता कांग्रेसलाई छ । त्यसैले समानुपातिकका ४० मध्ये २१ जना महिला पर्ने निश्चित छ भने पुरुष १९ जना पर्नेछन् ।
ती १९ पुरुषमध्ये खसआर्यबाट ३१.२ प्रतिशत अर्थात् ६ जनाले अवसर प्राप्त गर्नेछन् । समानुपातिकको उम्मेदवारको सूचीअनुसार क्रमशः १. बालकृष्ण खाँण २. दिलेन्द्रप्रसाद बडू ३ किशोरसिंह राठौर ४. सत्यनारायण खनाल ५.सूर्यबहादुर केसी ६.मोहनप्रसाद पाण्डेको नाम पर्ने निश्चित छ । आदिवासी जनजातिबाट २८.७ अर्थात् पाँचजनाले अवसर प्राप्त गर्नेछन् । समानुपातिकमा बुझाइएको सूचीमा १. बहादुरसिंह लामा २. कर्मा घले ३. उमेश श्रेष्ठ ४. लालकाजी गुरुङ ५. जिपछिरिङ लामाको नाम समावेश छ । दलितबाट १३.४८ अर्थात् तीनजनाले अवसर पाउनेछन् । उमेदवारको सूचीमा १. मानबहादुर विश्वकर्मा, मिन विश्वकर्मा र प्रकाश रसाइलीको नाम छ । मधेसीबाट १५.३ अर्थात् तीनजनाले अवसर पाउनेछन् । समानुपातिकको सूचीमा १. विनोद चौधरी २. स्मृतिनारायण चौधरी र ३ नागेन्द्रकुमार रायको नाम छ । थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एकजनाले अवसर पाउने देखिएको छ । थारुको सूचीमा पद्मनारायण चौधरी र मुसलमानको सूचीमा अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट जयपति रोकायाको नाम पहिलो नम्बरमा छ ।
यसैगरी, २१ जना महिलामध्ये खसआर्यबाट ६ या ७ जनाले अवसर पाउने सम्भावना छ । आयोगमा पेस गरिएको सूचीअनुसार १. सुजाता कोइराला २. पुष्पा भुसाल ३. डिला संग्रौला ४.मीना पाण्डे ५. उमा रेग्मी ६. दीपशिखा शर्मा र ७ रुक्मिणी कोइरालाको नाम छ । जनजातिबाट ६ जना पर्ने सम्भावना छ । आयोगमा पेस गरिएको सूचीअनुसार १. ज्ञानकुमारी छन्त्याल २. प्रमिला राई ३. महेन्द्रकुमारी लिम्बू ४. हीरा गुरुङ ५.मीना सुब्बा ६. सुवर्ण ज्वारचनको नाम छ । मधेसीबाट तीन महिलाले अवसर पाउने भएका छन् । आयोगमा पेस गरिएको सूचीअनुसार १. सीतादेवी यादव २ चित्रलेखा यादव र ३. मीनाक्षी झा पनि सांसद बन्ने निश्चित भएको छ । दलित महिलाबाट तीनजना पर्ने सम्भावना छ । आयोगमा बुझाइएको सूचीअनुसार १. सुजाता परियार २. लक्ष्मी परियार र ३. विमला नेपालीको नाम छ । थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाले पाउनेछन् । जसमा थारुतर्फ पार्वती डिसी चौधरी र मुस्लिमतर्फ सर्वतआरा खातुनको नाम पहिलो नम्बरमा छ । आयोगमा पेस गरिएको उम्मेदवारहरूको सूची विशेष परिस्थितिमा बाहेक फेरबदल गर्न नमिल्ने व्यवस्था ऐनमै गरिएको छ भने प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पनि क्रमसंख्याअनुसार नै दलहरूले सूची पठाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
– तरुणबाट