१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यान्मा–नेपाल मैत्री संघ गठन

नेपालब्रिटेन डट कम्
१२ पुष २०७४, बुधबार १२:१५

काठमाडौं । म्यान्मा–नेपाल सम्बन्धलाई जनस्तरमा समेत सुदृढ एवं सुमधुर तुल्याउने उद्देश्यले म्यान्मा–नेपाल मैत्री संघ गठन गरिएको छ । नेपालका लागि म्यान्माका पूर्व राजदूत ल्हा मिन्ट ऊको अध्यक्षतामा उक्त संघ गठन भएको यांगुनस्थित नेपाली राजदूतावासले जनाएको छ । संघमा म्यान्माका सामाजिक कार्यकर्ता, व्यापारी र बौद्धिक व्यक्तित्व सदस्य छन् ।

नेपाल र म्यान्माबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्षपछि औपचारिक रुपमा जनस्तरमा यसरी पहिलोपटक संघ गठन भएको हो । सरकारीस्तरको पारस्परिक सम्बन्धलाई अझ घनिभूत तुल्याउन तथा जनस्तरको मैत्रीलाई थप प्रगाढ बनाउन संघ स्थापनाको नतृत्व गरेकामा पूर्वराजदूत ल्हाप्रति म्यान्माका लागि नेपाली राजदूत भीम उदासले आभार व्यक्त गर्नुभएको उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्यान्मा सरकारसँगको परामर्शमा स्थापना भएको उक्त संघका अध्यक्षले नेपालमा सेवा गर्दाका अनुभवलाई ‘लुम्बिनी’ नामक पुस्तकाकार रुपमा प्रस्तुत गर्ने प्रेरणा प्राप्त गरेको राजदूत उदाससँगको भेटमा बताउनुभयो ।