८ बैशाख २०८१, शनिबार
Follow Us

अन्तिम ओभरमा रोहितको लगातार छक्का, भैरहवा फाइनलमा

sarusaru
१३ पुष २०७४, बिहीबार ११:२१

काठमाडौं। दोस्रो क्वालिफायरमा शानदार जीतसँगै भैरहवा वारियर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अन्तिम ओभरमा रोहित पौडेलले आक्रामक ब्याटिङसहित लगातार दुई छक्का प्रहार गर्दै भैरहवाको फाइनल यात्रा निश्चित गरेका हुन् । अब भैरहवा पर्सी शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँग भिड्नेछ । भैरहवा पहिलो क्वालिफायरमा हिजो मात्रै विराटनगरसँग पराजित भएकोले उसले हिलोको बदला लिने मौका पाएको छ ।

अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ओभरको पहिलो र दोस्रो बलमा लगातार छक्का हानेका रोहितले तेस्रो बलमा एक रन लिँदै इनिङ समाप्त गरे । उनले १७ बलमा नटआउट २८ रन बनाए । ओपनर प्रथम सालुन्केले आक्रामक सुरुवात गरेको भैरहवाको इनिङ मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा समस्यामा परेको थियो । तर अन्तिममा आएका रोहित र पुनित मेहराले महत्वपूर्ण साझेदारी गर्दै इनिङ सम्हाले ।

पुनित आउट भएपछि पुनः अप्ठेरोमा परेको इनिङलाई सम्हाल्दै रोहितले टिमको जीत सुनिश्चित गरेका हुन् । रोहित नै प्रतियोगिताको म्यान अफ द म्याच चुनिएका छन् । भैरहवाको लागि ओपनर प्रथम सालुन्केले ३२ रन बनाए । भूपेन्द्र थापाले १९ पुनित मेहराले १६ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले ६ विकेटको क्षतिमा १३२ रन बनाएको थियो । ललितपुरको लागि ओपनर जयकिशान कोल्सावालाले सबैभन्दा बढी ४२ रन बनाए । सनी पटेलले २४, दिपेश भण्डारीले २२, ज्ञानेन्द्र मल्लले २०, शंकर रानाले १२ र सोनु तामाङले १० रन बनाए ।

बलिङतर्फ भैरहवाका पुनित मेहराले २ विकेट लिए । भुवन कार्की, हरिशंकर शाह र आरिफ शेखले १–१ विकेट लिए । ललितपुरका लागि ललित राजवंशी र पवन शर्राफले २–२ विकेट लिए । सन्दिप लामिछाने र राशिद खानले १–१ विकेट लिए । आजको खेलमा सन्दिप लामिछाने फ्लप रहे । उनले २ ओभर बलिङ गर्दा ३३ रन दिए ।

– डिसी नेपालबाट ।