७ बैशाख २०८१, शुक्रबार
Follow Us

काभ्रे बस दुर्घटना: मृतकको सङ्ख्या तेत्तीस

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार १४:१३

काठमाडौं । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा ४३ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाँटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली उद्धारमा खटिएको छ ।
घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । घटनास्थलमा उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।