१३ बैशाख २०८१, बिहीबार
Follow Us

नक्कली अनुमति पत्र बनाएको आरोपमा यातायात विभागका उपसचिव र शाखा अधिकृत पक्राउ

sarusaru
१४ पुष २०७४, शुक्रबार ०२:०९

काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था विभागको लाइसेन्स कार्यालयका प्रमुख तथा उप-सचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाल पक्राउ परेका छन् ।

नक्कली कागजात तयार गरी साउदी अरेवियन सवारी चालक अनुमति-पत्रको आधारमा नेपाली सवारी चालक अनुमति-पत्र बनाई दिने (नेपालीकरण गर्ने) गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीहरुमाथि लाइसेन्स नेपालीकरण गर्ने नाममा फर्जी कागजात तयार गरी ८० हजार रुपैयाँसम्म लिएर लाइसेन्स बेचेको आरोप लागेको छ ।

उनीहरुलाई यातायात व्यवस्था विभागले हिजो (बुधबार) मात्रै कार्यालयबाट विभागमा तानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उनीहरुले अनियमत रुपमा काम गरेको ठहर गर्दै अख्तियारलाई थप अनुसन्धान गर्न पत्र लेखेको थियो ।

यसअघि पुस ९ गते पनि यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंका कार्यरत नायव सुव्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई सोही कामको लागि सेवाग्राहीसँग ३२ हजार रुपैयाँ घुस लिइरहेकै अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

आज (बिहीबार) भूमि सुधार कार्यालय भक्तपुरमा कार्यरत नायव सुव्वा राजु गौतम मोही लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ६ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

– अनलाइन खबरबाट ।