६ बैशाख २०८१, बिहीबार
Follow Us

अध्यायदेश जारी हुने, नयाँ सरकार गठनको बाटो खुल्ने

नेपालब्रिटेन डट कम्
१४ पुष २०७४, शुक्रबार ०३:४६

काठमाडौं । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा दलहरु लगभग सहमति नजिक पुगेका छन् । राष्ट्रियसभा गठनमा कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा विवाद हुँदा मतगणना सकिएको दुई हप्ताभन्दा बढी भैसक्दासमेत सबै राजनीतिक र संवैधानक प्रक्रिया अवरुद्ध हुँदै आएको छ । तीनवटै विषयलाई प्याकेजमै सहमति गरेर राजनीतिक गाँठो फुकाउन ठूला दल तयार देखिएका छन् ।
पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्य गर्दै सत्ता हस्तान्तरण प्रक्रिया सहज बनाउन एमाले, कांग्रेस र माओवादीले छलफल तीव्र बनाएका हुन् । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश दलीय विवादका कारण राष्ट्रपति कार्यालयमा अड्किँदा प्रतिनिधिसभाले समेत पूर्णता पाएको छैन भने प्रतिनिधिसभाको पूर्णताको अभावमा नयाँ सरकार गठन प्रक्रिया नै प्रभावित हुँदै आएको छ । तर यी विवाद हल गर्न दलहरु तत्पर देखिएका छन् ।
बहुमतीय प्रणालीबाट राष्ट्रियसभा चुनावको अडानमा रहेको एमाले एकल संक्रमणीयमा जान तयार भएको छ । एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया रोक्न खोजेको भन्दै एमाले आफ्नो अडानबाट पछि हट्न लागेको हो ।
एमाले आफ्नो अडानबाट पछि हट्ने संकेत देखिएपछि सरकारले पनि प्रदेश प्रमुख र अस्थायी राजधानी सहमतिमै तोक्ने निष्कर्षमा पुगेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेपनि प्याकेजमै सहमति खोज्ने टुंगोमा पुगेको हो ।