१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालद्वारा नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार १४:२८

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती पेस गरेको छ ।
नेदरल्यान्डको आमस्ट्रडममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार ग¥यो । नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल चार रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषवाकर पनि छ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए ।
तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले ।
खेलको १४ दशमलव ४ ओभरमा भेषवाकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए । चौरानब्बे बल खेलेका उनले सात चौका र एक छक्काकोे मदतमा ८४ रन जोडेका हुन् । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । अठहत्तर बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे ।
त्यसैगरी विनोद भण्डारीले १७, वसन्त रेग्मीले चार तथा सोमपाल कामीले दुई रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।