१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङमा पर्यटन, जलविद्युत् र कृषिको सम्भावना : भट्ट

नेपालब्रिटेन डट कम्
१४ पुष २०७४, शुक्रबार १४:३६

बागलुङ । पाँचौँ बागलुङ महोत्सव आजदेखि शुरु भएको छ । सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित महोत्सवको गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गर्दै विदेशमा रहेका नेपालीले पठाउने विप्रेषणलाई लगानीमा परिणत गर्ने योजना रहेको बताउँदै पर्यटन, जलविद्युत्, कृषिलगायत भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न सरकार र निजी क्षेत्रसँग संघले सहकार्य गर्ने बताउनुभयो ।

सो अवसरमा नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले जिल्ला र समग्र मुलुकको समृद्धिका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा पर्यटन, जलविद्युत्, कृषि र स्थानीय उत्पादनको दृष्टिकोणले प्रशस्त सम्भावना रहेकाले परियोजना बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । संघका अध्यक्ष एवम् मेला संयोजक जयराम भारीले महोत्सवलाई ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक मेलाका रुपमा लिइएको बताउनुभयो ।

व्यापार, पर्यटन, खेलकुद, कला र संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यसहित राखिएको एक सय ८२ व्यावसायिक कक्ष रहेको महोत्सव यही पुस २३ गतेसम्म चल्नेछ । महोत्सवमा कृषि तथा लघु उद्यम र स्थानीय उत्पादन निःशुल्क रुपमा तथा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबललगायत प्रतियोगिता पनि राखिएको छ ।