१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार १३:३९

झापा । बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज सार्वजनिक गरेको हो ।

मितआमालाई भेट्न इलामबाट आएकी ३५ वर्षीया एक महिलालाई उनीहरुले खुकुरी देखाएर जबरजस्ती गर्ने प्रयास गरेका थिए । घटनामा संलग्न अर्का एकजना फरार रहेको र प्रहरीबाट उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

पीडित महिलालाई बिहीबार मितआमाको भाइले मोटरसाइकलमा इलाम पु-याउने क्रममा अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरीबन्धु चिया बगानमा ती युवकले खुकुरी देखाई मोटरसाइकल रोक्न लगाएको प्रहरीको भनाइ छ ।

ती युवाले उनीहरुलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार ती महिला र उनका मितआमाको छोरा ‘भाइ’लाई चुम्बन गर्न लगाएर उनीहरुले भिडियो खिचेका र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेका थिए । तीन जनाले पीडित महिलाको कपडा खोलेर जबरजस्तीसमेत गर्न खोजेका थिए ।

उनीहरुले बनाएको अश्लील भिडियो आफूसँग रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो । भिडियो बनाइसकेपछि ती युवाले आफूहरुले भनेजति पैसा नदिए भिडियो फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्कीसमेत दिएका थिए ।

पीडितहरुले ‘हामीसँग यत्रो पैसा छैन, हामी दश हजार मात्र दिन सक्छौँ, बैंकबाट निकाल्नु पर्छ’ भन्दा पीडित महिलाको भाइको मोटरसाइकलको चाबी खोसी मोटरसाइकल र महिलालाई चियाबारी भित्र एकान्त स्थानमा लगेको र भाइलाई एकजनाको साथ लगाएर बैंकमा पैसा लिन पठाएको प्रहरीले जनाएको छ ।

तर, बैंकतर्फ आउने क्रममा पीडितको भाइ साथ लागेर आएका युवकलाई छलेर इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेका थिए । उक्त स्थानमा प्रहरी पुग्दा ती महिला निर्वस्त्र अवस्था भेटिएको प्रहरीको भनाइ छ । घटनामा संलग्नमध्येका डाँगी र मगरलाई प्रहरीले तत्काल घटनास्थलबाट पक्राउ गरेको थियो ।