१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमालेले आन्तरिक एकता बलियो बनाउने

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार १४:३४

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठकमा पार्टीको आन्तरिक एकता बलियो बनाउन नेताहरुले सुझाव दिनुभएको छ । पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीतिक समीकरण, वर्तमान सत्ता गठबन्धन समेत विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा नेता माधवकुमार नेपाल लगायत नेताले पार्टीको आन्तरिक एकता बलियो बनाउन सुझाव दिनुभयो । नेता नेपालले पार्टीले नेतृत्व गरेको सरकारमा आबद्ध दलका गठबन्धनलाई लामो समय टिकाउन नसक्नाका विभिन्न पक्षमा समीक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली र भीमबहादुर रावल तथा सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले आआफ््नो धारणा राख्नुभएको थियो ।

दुर्घटनाबाट पार्टी स्तब्ध
काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस आज काभ्रेको बिर्ता देउराली–७, खहरेखोलामा दुर्घटना भई ठूलो सङ्ख्यामा यात्रुको निधन भएको खबरबाट आफ्नो पार्टी स्तब्ध भएको एमालेले जनाएको छ । मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र उद्धार र उपचारका लागि बैठकले माग गरेको छ । बैठकले बसमा अनियन्त्रित यात्रु–चाप नियन्त्रण, सार्वजनिक सवारी साधन र चालकको अवस्थामा निगरानी तथा वर्षा याममा अत्यावश्यक बाटोघाटोको तत्काल सुधारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी पार्टीका केन्द्रीय लेखापरीक्षण आयोगका सदस्य ईश्वरीप्रसाद खरेलका पुत्र डा पुकार खरेलको असामयिक निधनबाट पार्टी दुःखित बनेको छ । दिवङ्गत डा खरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पार्टीले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । आइतबारदेखि सुरु भएको स्थायी कमिटीको अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।