१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यात्रुले बस्तीनजिकै शौच गरेपछि गरियो यस्तो व्यवस्था

sarusaru
१७ पुष २०७४, सोमबार ०२:१४

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ । रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न भएपछि यही पुस १८ गतेबाट रातिमा बस्ती नभएको ठाउँमा सवारी रोक्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ । यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको उनले बताए ।
काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । तनहुँ तर्फबाट आउने सवारीसाधनलाई तनहुँ प्रहरीसँग समन्वय गरी उपयुक्त ठाउँमा रोक्ने व्यवस्था गरिने उनले जानकारी दिए । मुग्लिन बजारमा सार्वजनिक शौचालय रहेको र रातको समयमा पनि होटल खुल्ला रहने हुँदा बाहिर शौच गर्नुपर्ने बाध्यता नरहेको उनले बताए । लेवाटारमा मानव बस्ती कम रहेकाले समस्या नहुने अनुमान गरिएको छ ।

विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि यसलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा हालै सम्पन्न सरोकारवालाहरुको बैठकले राति छ घण्टा र दिउँसोको समयमा एकतर्फी सवारीसाधन सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनेलगायतका कालोपत्रबाहेकका काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारीसाधन सञ्चालन गरेर कालोपत्रको काम अगाडि बढाउने निर्णय गरेको छ । बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी साधनको आवागमन प्रभावकारी बनाउने, सवारीसाधन रोकिएको समयमा कामलाई तीव्रता दिने, रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको बताए । उक्त सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मिटर र ३३ किलोमा तीन सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनिर खनालले जानकारी दिए । उनका अनुसार हालसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ । सो सडक तीन पत्र कालोपत्र गरिँदै छ ।
– रासस