१२ बैशाख २०८१, बुधबार
Follow Us

काठमाण्डौमा माइक्रो र टेम्पो विस्थापनको संस्थागत प्रयोग शुरु हुने निश्चित

sarusaru
१७ पुष २०७४, सोमबार ०३:३९

काठमाडौं । दुईदेखि तीन महिनाभित्र सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापनको पहिलो ‘सफल प्रयोग’ हुने भएको छ ।

नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुटबाट माइक्रो र टेम्पो विस्थापनको संस्थागत प्रयोग शुरु हुने निश्चित भएको हो ।

सरकारी पहलमा खुलेको ‘सार्वजनिक यातायात कम्पनी’ले नगर विकास कोषसँग ती रुटमा चलिरहेका सार्वजनिक यातायातका साना सवारी साधन हटाएर कम्तिमा ६० जना अट्ने ठूला बस चलाउने गरी ऋण सम्झौता गरेको छ । व्यवसायीहरुले बस खरिद प्रक्रिया थालेका छन् ।

हालसम्म लामो रुटमा साझासहितका केही निजी व्यवसायीका समितिले मात्रै ठूला बस चलाइरहेका छन् । पहिलो प्रयास सफल भएमा सरकारी प्रोत्साहनमै यात्रुको चाप रहने उपत्यकाका अन्य रुटमा पनि ठूला बस गुडाउने प्रक्रिया थालिने छ ।

सरकारले उपत्यकामा ‘मास ट्रान्स्पोर्टेसन’ प्रणाली लागू गर्न पहिलो चरणमा सामाखुशी यातायात र सफा टेम्पो परिवहन संघसँग सम्झौता गरेको हो ।

दुवै यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले ठूला बस खरिद गरी ‘सार्वजनिक यातायात कम्पनी’ दर्ता गराएका छन् । शुरुमा व्यवसायी माइक्रो र टेम्पो हटाउन तयार भएका थिएनन् ।

सरकारले प्रोत्साहनका रुपमा सहुलियत ऋण र १५ प्रतिशत अनुदान उपलब्ध गराउने भएपछि उनीहरु कम्पनीमा जान सहमत भएका हुन् ।

कम्पनीमा गएपछि सरकारलाई वार्षिक कर तिर्नुपर्ने तथा अहिलेभन्दा पारदर्शी र जिम्मेवार हुनुपर्ने भएकाले व्यवसायीले आनाकानी गरेका थिए । अझै पनि केही व्यवसायी कम्पनी प्रणालीमा जान तयार भइसकेका छैनन् ।

नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुटमा साना सवारी साधन सञ्चालन गरिरहेका व्यवसायीले भने विभिन्न चरणका छलफलपछि सरकारी प्रस्ताव स्वीकार गरेका हुन् ।

नयाँ बसपार्कबाट छुट्ने बस गोंगबु, ठमेल, लैनचौर, केशरमहल, रत्नपार्क, प्रदर्शनी मार्ग, कालिकास्थान, मैतिदेवी, पूरानो बानेश्वर, सिनामंगल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछन् ।

यातायात व्यवस्था विभागका अनुसार यो एसियाली विकास बैंक (एडीबी)ले पहिचान गरेको वैज्ञानिक रुट हो । अहिले सिनामंगललाई आधार बनाएर ३५ वटा टेम्पो र २६ वटा माइक्रो बस सञ्चालनमा छन् ।

नयाँ बस खरिदका लागि नगर विकास कोषमार्फत् एडीबीले नै ऋण उपलब्ध गराउँदैछ । त्यसको जमानी सरकार बसेको छ ।

पाँच प्रतिशत व्याजको सहुलियत ऋणबाट बस खरिद गर्न व्यवसायीले कोटेसन मागेका छन् । त्यस क्रममा पाँच प्रतिशत रकम भने यातायात कम्पनीले बेहोर्नेछ । बसको खरिद लागतमा १५ प्रतिशत अनुदान उपलब्ध हुनेछ ।

८० प्रतिशत खरिद लागत ऋणका रुपमा उपलब्ध गराइने काठमाडौं दिगो शहरी उपत्यका यातायात आयोजना प्रमुख अनन्त आचार्यले अनलाइनखबरलाई जानकारी दिए । सबै बस अपांगमैत्री हुनेछन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार एडीबीको सहयोगमा पहिचान भएका सबै वैज्ञानिक रुटमा आवश्यकताअनुसार सवारी साधन सञ्चालन गर्ने प्रयास सोही रुटबाट शुरु हुन लागेको हो ।

वैज्ञानिक रुटको अवधारणा

एडीबीको सहयोगमा भएको उक्त अध्ययनमा हाल खण्ड–खण्ड गरी दुई सयभन्दा बढी छोटा रुटलाई ६६ वटामा सीमित गर्न सकिने देखिएको छ । त्यसबाट उपत्यकाको सवारी रुट व्यवस्थित हुने सरकारी आकलन छ ।

सरकारले उपत्यकाको सार्वजनिक यातायातलाई तीन तहमा वर्गीकरण गरेको छ । त्यसमा यात्रुको चाप, शहरी भौगोलिकता, दूरी र सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापनको मर्मलाई आधार बनाइएको छ ।

सडकको क्षमता र यात्रुको उपलब्धताका आधारमा ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राथमिक, माध्यमिक र छोटा गरी तीन भागमा रुट विभाजन गर्नुपर्ने अध्ययनको सुझाव छ ।

उपत्यकामा आठ वटा प्राथमिक रुट पहिचान भएका छन् । त्यस्ता रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्छन् ।

नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुट भने माध्यमिक स्तरको हो । अध्ययनबाट त्यस्ता १६ वटा रुट पहिचान भएका छन्, जसमा ६० यात्री क्षमताका बस चलाउन सकिन्छ ।

यस्तै, उपत्यकामा ४२ वटा छोटा रुट अध्ययनका क्रममा पत्ता लगाइएको छ, जसमा टेम्पोहरु चलाइने छ ।

विभागका प्रवक्ता पाण्डेका अनुसार ती रुट अहिलेजस्तो अवैज्ञानिक छैनन् ।

‘काठमाडौंमा निजी सवारी चढ्ने प्रवृत्ति तीव्र गतिमा उकालो लागेको छ । यो गति कायम रहे केही समयपछि उपत्यकाको सवारी व्यवस्थापन अहिलेभन्दा नाजुक बन्न सक्छ,’ डा. पाण्डे भन्छन्, ‘सार्वजनिक सवारीलाई स्तरीय बनाइयो भने धेरै यात्रु निजी सवारी छाडेर सार्वजनिकमा फर्किने छन् ।’

सोही कारण वैज्ञानिक रुटमा नयाँ र ठूला सवारीलाई इजाजत दिन विभाग अग्रसर रहेको उनी बताउँछन् ।

उपत्यकामा हाल तीन सयभन्दा बढी संघ र समिति मातहतमा हजारौं सार्वजनिक सवारी साधन सञ्चालनमा छन् ।

– अनलाइन खबरबाट ।