१२ बैशाख २०८१, बुधबार
Follow Us

अंग्रेजी नयाँ वर्षमा होटलहरु आन्तरिक र बाह्य पर्यटकले भरिभराउ

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार ०४:०३

काठमाडौं । अग्रेजी नयाँ बर्ष मनाउनका लागि देशभरका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पयर्टकहरुको भीड लागेको हो । केहीदिनदेखि देशका मुख्य पर्यटकीय स्थल पोखरा, चितवन, नगरकोट धुलिखेल लगायतका स्थान पर्यटकले खचाखच भरिएका छन् । नयाँ बर्षको अवसर पारेर एक सातादेखि सडक महोत्सव आयोजना गरिएको पोखरामा केहीदिनदेखि पर्यटक खचाखच छन् । फेवातालको किनारा आयोजना गरिएको महोत्सवमा सहभागी हुन । नयाँ बर्ष मनाउनका लागि आन्तरिक पर्यटकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटकहरु पनि पोखरा पुगेका छन् । नयाँ बर्षको अवसर पारेर होटल रेष्टुरेन्टहरुले विभिन्न किसिमका छुट पनि आयोजना गरेकाले पछिल्लो समय पोखरा पुग्ने पर्यटक बढेका छन् । अग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन अन्यत्र जाने भएकाले पर्यटकलाई पोखरा भित्राउन १८ वर्ष अघि पोखरामा सडक महोत्सव हुँदै आएको छ ।
अग्रेजी नयाँ बर्ष २०१८ मनाउन चितवनको सौरहामा पनि ठुलो संख्यामा पर्यटकहरु पुगेका छन् । नयाँ बर्ष मनाउनका लागि केही दिनदेखि चितवनको सौरहा, चितवन राष्ट्रिय निकुञ्ज लगायतका ठाँउमा होटल रेष्टुरेन्टहरु पर्यटकहरुले भरिभराउ रहेका छन् । कतिपयले नयाँबर्षको पूर्व सन्ध्यामा रमाउन र नयाँ बर्ष स्वागत गर्नका लागि होटल–रेष्टुरेन्टहरु केही समयअघिदेखि नै बुकिङ गरेका थिए । पयर्टक आकर्षित गर्न सौरहाका पर्यटन ब्यवसायीले विभिन्न सांस्कृतिक कार्यक्रमका साथै छुट सहितका प्याकेज घोषणा गरेका छन् ।
अग्रेजी नयाँ बर्षमा लुम्बिनीमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको छ । बौद्ध भिक्षुका साथै ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु लुम्बिनी पुगेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी बिकास कोषले लुम्बिनीस्थित सेन्ट्रल क्यानलमा डुंगा सञ्चालनमा ल्याएपछि पर्यटकको चाप बढेको छ । लुम्बिनीमा पर्यटकको चाप बढेसँगै लुम्बिनीमा होटलसमेत खचाखच भएका छन् ।
अग्रेजी नयाँ बर्ष मनाउन धुलिखेलका होटलहरु भरिभराउ भएका छन । जिल्लाका अधिकास होटल देखि रिर्सोटहरु अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको होटल ब्यवासायीले जानकारी दिएका छन् । नयाँ बर्षको सुरुवात हुनु अगाडी नै पर्यटकीय नगर धुलिखेल, बल्थली, दोलालघाट, नमोबुद्ध लगायतका स्थानहरुमा चहलपहल बढेको छ । आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिले सामान्य होटलदेखि होमस्टेसम्मम भरिभराउ भएका छन ।
भक्तपुरको नगरकोटमा पनि ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु पुगेका छन् । नयाँ बर्षको पूर्वसन्ध्यादेखि बर्षको पहिलो दिनको सुर्योदयको दृश्य हेर्नका लागि काठमाडौंका साथै देशका विभिन्न स्थानवाट पर्यटकहरु नगरकोट पुगेका हुन । चिसो हावा, पानी र नजिकैबाट हिमालको अवलोकन गर्नुसगै उपत्यकाबाट नजिक रहेकाले पनि नगरकोट पुग्न चाहानेहरु केही बर्षदेखि बढेका छन् । नगरकोटका होटल ब्यवसायीहरुले पनि नयाँ बर्षका अवसरमा छुट प्याकेज सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । पर्यटनका लागि भदौदेखि माघसम्मको समय सिजन मानिन्छ । यो समयमा मौसम पनि राम्रो हुने हुनाले नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुने गरेको छ ।