११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली कामदारको पूर्ण सुरक्षा हुनुपर्छ : प्रम

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार ०६:५९

काठमाडौं । सुरक्षाको पूर्ण प्रबन्ध भए मात्र नेपाली कामदार अफगानिस्तान पठाउन सकिने सरकारले गठन गरेको एक कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ ।

केही समय पहिले १३ नेपालीको ज्यान गएको अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटको घटनाको छानबिनका लागि गठन भएको टोलीले दिएको प्रतिवेदनमा पूर्ण सुरक्षाको प्रबन्ध नहुँदासम्म नेपाली कामदार पठाउन नसकिने र नहुने निष्कर्ष निकालेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको संयोजत्वकमा गठित कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदै द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन पूर्ण रुपमा सचेतना अपनाउन सुझाव दिएको हो । सचिव लम्साल नेतृत्वमा सरकारले गत असार ९ गते उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित वासस्थानको सुनिश्चिता गरेर मात्रै चौकीदारका रुपमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कार्यदलले दिएको सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गरिने र पूर्ण रुपमा पालना गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्रीले द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने विषय नै गम्भीर भएकाले त्यसमा पूर्ण रुपमा सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो ।

“विदेशमा रोजगारीका लागि गएका नेपालीको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने नै सरकारको धारणा हो । प्रतिवेदन अध्ययन गरेर यसबारेमा मन्त्रिपरिषद्को बैठकमा छलफल गरी निर्णय गरिनेछ” – प्रधानमन्त्रीले भन्नुभयो ।

सो अवसरमा आपूर्तिमन्त्री एवम् तत्कालीन श्रममन्त्री दीपक बोहोराले नेपाली कामदारको सुरक्षाका विषयमा सरकारले प्रभावकारी रुपमा कदम चाल्ने बताउनुभयो । कार्यदलका संयोजक सचिव लम्सालले सरोकार भएका सबै पक्षको सहयोग एवम् स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभएको थियो ।