८ बैशाख २०८१, शनिबार
Follow Us

नयाँ बर्ष २०१८ को स्वागतमा विश्वभर भव्य आतसबाजी

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार ०९:५६

लन्डन । नयाँ वर्ष सन् २०१८ को स्वागत संसारभर धुमधामका साथ गरिएको छ । नयाँ बर्षको स्वागतमा विश्वभर भव्य आतसबाजी, प्रदर्शनी र कार्यक्रमहरु भइरहेका छन । मर्मतको काम भइरहेको बेलायतको लण्डनको बिग बेनमा नयाँ बर्षको स्वागतमा आतसबाजी गरिएको छ । लण्डनमा १० हजारभन्दा बढी आतसबाजी गरिएको बताइएको छ । पेरिसको आतसबाजी हेर्न सयौँ मानिसहरु भेला भएका थिए । फ्रान्सको पेरिसस्थित आइफेल टावरलाई सुनौलो रंगको पारे नयाँ वर्षको स्वागत गरिएको छ ।
चीनको बेइजिङलाई पनि अंग्रेजी नयाँ वर्ष समारोहले छोपेको थियो । आतवबाजीसँगै चिनियाहरुले नँया बर्षलाई स्वागत गरेका छन् । स्कट्ल्याण्डको एडिनवारा शहरमा पनि भव्य आतसबाजी गरेर सन दुई हजार अठारलाई स्वागत गरिएको छ ।
नयाँ बर्षको अवसरमा संयुक्त अरव इमिरेटको दुबईस्थित संसारकै अग्लो बुर्ज खलिफा टावरलाई लेजरमार्फत रंगीबिरंगी प्रकाशले सजाइएको थियो । नयाँ बर्षको स्वागतमा हङकङको ऐतिहासिक बन्दरगाहको आतसबाजीले धेरैलाई मोहित बनाएको थियो । अष्ट्रेलियाको सिड्नी हार्वरमा पनि भव्य आतसबाजीसहित नयाँ वर्षको स्वागत गरिएको छ । भारतको नयाँ दिल्लीमा अंग्रेजी नयाँ वर्ष मनाउन मानिसहरु इण्डिया गेटमा जम्मा भएका थिए ।आयरल्याण्डको राजधानी डब्लिन, सिंगापुर, मलेसियाको राजधानी क्वालालम्पुरमा रहेका पेट्रोनास ट्विन टावरमा पनि नयाँ बर्षको स्वागतमा आतसवाजी गरिएको छ । साथै दक्षिण कोरियाको राजधानी सोलस्थित एक सय २३ तल्ला अग्लो टावर पनि विशेष रुपले सजाइएको छ । ताइवानको राजधानी ताइपेइमा पनि नयाँबर्षको अवसरमा बिशेष समारोह आयोजना गरिएको छ ।