७ बैशाख २०८१, शुक्रबार
Follow Us

शीतलहरले जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार १०:०४

धनगढी । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु-याएको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ ।

शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् ।

शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिँदा समस्या भएको स्थानीयवासी किसान मानबहादुर चौधरीले बताउनुभयो ।

“ठूलो लगानी गरेर खेतमा आलु खेती ग-यौँ, अहिले आएर डढुवाको प्रकोपले बोट कुहिन थालेको छ, चौधरीले भन्नुभयो, “वर्षेनी मंसिर, पुसमा हुने शीतलहरले आलुलगायतका बालीमा डढुवा प्रकोपको समस्या देखिँदा व्यावसायिक तरकारी खेतीमा लागेकाको मनोबल घटेको छ ।”

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी डढुवा रोगबाट आलु गोलभेँडालगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किनु पर्ने सुझाव दिनुहुन्छ ।

जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बाक्लो हुस्सु लाग्ने गरेका कारण दैनिक हवाई सेवाको सुविधा भएको ७ नं प्रदेशको एकमात्र धनगढी विमानस्थलको हवाई उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।